काठमाडौं । हिमाल विष्फोट भएर रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएहरूको शव व्यवस्थापनमा समस्या हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान नभएका शवहरूको सामूहिक व्यवस्थापन गर्ने भएको छ।
शव भण्डारका लागि आवश्यक पर्याप्त उपकरण तथा पूर्वाधार र जनशक्तिको अभावमा लामो समयसम्म शव भण्डारण गर्न सहज नभएको र रोगको संक्रमण समेत बढ्ने कारण जनाउँदै प्रशासन कार्यालयले पहिचान नभएका शव गाड्ने भएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालयले विज्ञप्ती जारी गर्दै भनेका छन्,’शोकको यस विषम र दारुण परिस्थितिमा बाध्यात्मक रूपमा लिनुपरेको यस निर्णयलाई सकारात्मक रूपमा लिई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ। यस निर्णयबाट पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।’
जिल्ला सुरक्षा समिति चितवनको शनिबारको बैठकले थप सङ्क्रमणको जोखिमबाट नागरिकहरूलाई बचाउन र शवहरूको सम्मानजनक तथा सुरक्षित कानुनी व्यवस्थापन गर्न पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
विनाशकारी रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म चितवन जिल्लाबाट कुल २३३ वटा शव फेला परेका छन्। फेला परेका शवहरूमध्ये हालसम्म ४ वटा शवको मात्र पहिचान हुन सकेको छ भने बाँकी २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थाहरूमा राखिएका छन्।
बाढीको विभिषिकापछि नदी तट र होल्डिङ सेन्टरहरूमा संकलन गरिएका अधिकांश शव तथा अवशेषहरू कुहिएका र सडेगलेका कारण थप पहिचान गर्न असम्भवप्रायः बनेको छ। तत्कालका लागि अपनाइएका व्यवस्थापकीय प्रबन्धका बावजुद ती शवहरूबाट दुर्गन्ध फैलिन थालेको र यसले समग्र क्षेत्रमै महामारी तथा गम्भीर स्वास्थ्य सङ्क्रमणको जोखिम बढाएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन्।
आफन्त गुमाएका परिवारजनको पीडालाई मध्यनजर गर्दै, भविष्यमा पहिचानको बाटो खुला राख्नका लागि प्रत्येक शवको डिएन(वंशाणुगत गुण) नमूना संकलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिने भएको छ। अभिलेखीकरणपश्चात् भरतपुर महानगरपालिका वडा नं. १ स्थित देवघाटको खुला स्थानमा शवहरूको व्यवस्थापन सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले बेवारिशे शवका सम्बन्धमा थप जानकारी वा सोधपुछका लागि प्रहरी निरीक्षक अनिल थापा ९८५५०(१७०९९ र सशस्त्र प्रहरी हवल्दकार सुजन खनाल ९८५१३५९९५८ सँग सम्पर्क गर्न अनुरोध गरेको छ।












