काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको मर्जरमा नयाँ व्यवस्था ल्याएको छ।
केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै मर्जर प्रक्रियामा नयाँ व्यवस्था कायम गरेको हो। अब थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्तबीच मर्जर प्रक्रियापछि एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्तका रुपमा मात्रै कार्य गर्नुपर्ने व्यवस्था संशोधित निर्देशनमार्फत गरिएको छ।
तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेको मितिले ५ वर्षसम्म थोक कर्जाको कारोबार गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन।
यसअघिको निर्देशनमा थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्तले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका रुपमा कार्य गर्न सक्नेछन् भन्ने व्यवस्था थियो। ‘तर, थोक कर्जा प्रदायक लघुवित्तले गाभ्ने/गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिकाअनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन’, भन्ने उल्लेख थियो।












