काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आज २० ठूला करदातासँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रुपमा होइन, राष्ट्र निर्माणको साझेदारका रुपमा सम्मान गर्छ’, उनले भने, ‘हामी यसका लागि काम गर्दैछौँ।’
नेपालको अर्थतन्त्र निर्माणमा करदाताहरुले पुर्याएको योगदानप्रति सरकारका तर्फबाट अर्थमन्त्री वाग्लेले सम्मान व्यक्त गरे। ‘तपाइँहरु केवल सफल व्यवसायी वा कम्पनीका प्रतिनिधि मात्र होइन, नेपालका सबैभन्दा ठूलो करदाता, सबैभन्दा ठूलो रोजगारदाता, सबैभन्दा ठूलो लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार हुनुहुन्छ’, उनले भने, ‘आजको बैठक औपचारिक भेटघाटका लागि होइन। यो सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता हो।’
केही दिनयता आफूले उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग लामो समय छलफल गर्ने अवसर पाएको उल्लेख गर्दै वाग्लेले भने, ‘ती सबै छलफलबाट एउटा साझा निष्कर्ष आएको छ—नेपालको आर्थिक रुपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र होइन, यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ।’
वाग्लेले सरकार निजी क्षेत्रलाई शंकाको दृष्टिले नभएर साझेदारको दृष्टिले हेरेको बताए। ‘हामी विश्वास गर्छौं कि निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो’, उनले भने, ‘यसैले अब सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु होइन; उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु हो। किनकि जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ। पुनः लगानीले उत्पादन बढाउँछ। उत्पादनले रोजगारी सिर्जना गर्छ। रोजगारीले आम्दानी बढाउँछ। आम्दानीले बजार विस्तार गर्छ। अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ। त्यसैले सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग (श्भचय–कगm) सम्बन्ध होइन; दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ।’
नेपालमा वैध रुपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको अर्थमन्त्री वाग्लेले बताए। ‘उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमेय छ र राज्य आफ्नो साझेदारका रुपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ। त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन’, उनले भने, ‘त्यो विश्वास निर्माण नगरी उद्योग विस्तार हुँदैन। त्यो विश्वास निर्माण नगरी आर्थिक रुपान्तरण सम्भव हुँदैन।’
नेपालमा अझ ठूलो लगानी पनि अर्थमन्त्री वाग्लेले आग्रह गरे। ‘भएका उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्। नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्नुहोस्’, उनले भने।












