काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार प्रतिशेयर वितरणयोग्य नाफा (लाभांश क्षमता)मा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ।
नेपालमा हाल कुल २० वटा वाणिज्य बैंक सञ्चालनमा रहे ता पनि हालसम्म वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने बैंकहरुमध्ये एभरेष्ट बैंकले प्रतिशेयर रु. ३८.३२ वितरणयोग्य नाफा कमाएर अग्रता कायम गरेको हो।
त्यस्तै सिद्धार्थ बैंक रु. २६.१५ प्रतिशेयर वितरणयोग्य नाफासहित दोस्रो स्थानमा छ भने सानिमा बैंक रु. २०.८५ सहित तेस्रो स्थानमा पर्न सफल भएको छ।
हालसम्म रिपोर्ट सार्वजनिक गर्ने अन्य प्रमुख बैंकमा नबिल बैंक रु. १९.१० प्रतिशेयर वितरणयोग्य नाफासहित चौथो स्थानमा रहेको छ भने ग्लोबल आइएमई बैंकले रु. १२.०२ वितरणयोग्य नाफा कमाएको छ।
त्यसैगरी एनएमबि बैंकको प्रतिशेयर वितरणयोग्य नाफा रु. ९.०८ रहेको छ। विवरण प्रकाशित गर्ने बैंकहरुमध्ये कृषि विकास बैंकको प्रतिशेयर वितरणयोग्य नाफा सबैभन्दा कम अर्थात् रु. ६.५४ कायम भएको छ भने अन्य वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक हुन अझै बाँकी रहेको छ।













