काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बागेर जोल्घादरले अमेरिकाले आफ्ना ६ वटा माग पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने बताएका छन्।
बीबीसी फारसीका अनुसार ती मागमा इरानविरुद्धको प्रतिबन्धहरु खुकुलो पार्ने, युद्ध क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहहरुमा नौसेना नाकाबन्दी तुरुन्तै हटाउने, इरानविरुद्धको धम्की रोक्ने र देशको कब्जा गरिएको सम्पत्ति रिहा गर्ने समावेश छन्।
विश्लेषकहरुका अनुसार जोल्घादरले इरानको अघिल्ला मागहरुलाई धेरै हदसम्म दोहोर्याएका छन्। तर, यसले वार्तामा होर्मुजमा इरानको कडा अडानलाई संकेत गर्दछ।
यी बयानहरु यस्तो समयमा आएका छन् जब इरान र ओमानले होर्मुजबाट ढुवानीका लागि नयाँ व्यवस्थाहरुमा हालैका वार्ताहरुलाई ‘सकारात्मक र रचनात्मक’ भनेर वर्णन गरेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँगको वार्ता अन्तिम चरणमा रहेको बताएका छन्। तर, उनले सम्झौतामा पुग्नुको अर्थ होर्मुज तुरुन्तै पुनः खोल्नु नभएर जलमार्ग पुनः खोल्नु ‘अन्य सर्तको अधीनमा’ रहेको स्पष्ट पारेका छन्।
यसअघि रोयटर्स समाचार एजेन्सीले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको थियो कि इरान र ओमानबीच होर्मुजबारेको वार्तामा प्रगति भएको छ र अमेरिकाले चाँडै नै सम्झौता हुने आशा राखेको छ। ती अधिकारीका अनुसार होर्मुजबाट व्यावसायिक जहाजहरुको निर्वाध आवतजावतको ग्यारेन्टी गर्ने सम्झौता घोषणा भएपछि अमेरिकाले इरानी बन्दरगाहहरुको नाकाबन्दी हटाउनेछ। –एजेन्सी












