काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन गरेको छ।
धितोपत्र बोर्डका नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरेको हो। प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउनेलगायतका उद्देश्यसहित कार्यदल गठन गरिएको धितोपत्र बोर्डले जनाएको छ।
धितोपत्र बोर्डबाट तीनजना कर्मचारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एकजना प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार समितिको संयोजक गरी ७ सदस्यीय रहेको कार्यदल गठन गरिएको छ। कार्यदलले आवश्यकताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था –आईक्यान), विद्युत नियमन आयोग (ईआरसी), स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, सीडीएससीलगायत अन्य सरोकारवाला संघसंस्थाका विज्ञसमेत आवश्यकताका आधारमा आमन्त्रित गर्न सक्नेछ।
आर्थिक वर्ष २०८३।८४ को पुँजीबजार नीतिअन्तर्गत रहेको नियामकीय सुधार कार्यान्वयन गर्ने उद्देश्यका साथ गठित कार्यदलको पहिलो बैठक मंगलबार धितोपत्र बोर्डको कार्यालयमा बसी प्राथमिक बजारको सुधार सम्बन्धमा छलफल गरेको छ। कार्यदलको प्रमुख कार्यसर्तमा प्राथमिक बजारको सुधार नीति, धितोपत्रको सार्वजनिक निष्कासन, बुक बिल्डिङ, मर्चेन्ट बैंकर, आइपीओ बाँडफाँट, डिजिटल आइपीओ, आइपीओ योग्यता, आइपीओ मूल्य, संस्थागत लगानीकर्ता, एंकर इन्भेटर्स, ड्यु डेलिजेन्स, पोस्ट इस्यु मोनिटरिङलगायत प्राथमिक बजारसँग सम्बन्धित अन्य विषयवस्तु रहेका छन्।












