काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।८३ मा २ खर्ब रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकहरु (ठूला १४ वटा र ३ वटा लघु)ले गत आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। कम्पनीहरुले सबैभन्दा धेरै व्यापार बागमती प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा बागमतीको हिस्सा ४२.५० प्रतिशत देखिएको छ।
यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले ३३ अर्ब २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा लुम्बिनीको हिस्सा १६.१३ प्रतिशत देखिएको छ।
तेस्रोमा कोशी प्रदेश रहेको छ। कम्पनीहरुले यो प्रदेशबाट २५ अर्ब १६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा कोशीको हिस्सा १२.३० प्रतिशत रहेको छ।
त्यस्तै गत आर्थिक वर्षमा कम्पनीहरुले गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड ४६ लाख रुपैयाँ, मधेश प्रदेशबाट १९ अर्ब १३ करोड रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १२ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
कुल व्यापारमा गण्डकीको हिस्सा १०.४१ प्रतिशत, मधेशको ९.३५ प्रतिशत, सुदूरपश्चिमको ६.२७ प्रतिशत र कर्णालीको ३.०४ प्रतिशत रहेको छ।













