काठमाडौं । ऊँटलाई मरुभूमिको जहाज भनेर चिनिन्छ। तर, यो बलियो जनावर पनि विश्वव्यापी रुपमा बढ्दो तापक्रमबाट बच्न संघर्ष गरिरहेको छ।
उच्च तामक्रमका कारण भारतको राजस्थानदेखि अफ्रिकी सहारासम्म गर्मीका कारण ऊँटहरु मरिरहेका छन्। शताब्दीयौँदेखि अफ्रिकी मरुभूमिमा मानिसहरुको जीवनको एउटा आवश्यक भाग रहेका ऊँटहरु विस्तारै हराउँदैछन्।
सन् २०२५ मा प्रकाशित एक अध्ययन प्रतिवेदनमा उच्च तापक्रम र जलवायु परिवर्तनले ऊँटको स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको उल्लेख गरेको छ।
विश्वमा सबैभन्दा धेरै संख्यामा एक– कुबड भएका ऊँटहरु उत्तरी अफ्रिका र अफ्रिकाको हर्नमा पाइन्छन्। यो इथियोपियाको अफार क्षेत्र हो। जहाँ घुमन्तेहरुले प्रायः मरुभूमिबाट नुन बोकेर जाने ऊँटहरुको कारभानको नेतृत्व गर्छन्। अफारको सोमेरामा लगभग ५०० ऊँटका मालिक अली ओमारले तीव्र गर्मीका कारण एकै महिनामा कुल १०० बाछो गुमाएको बताए। उनले भने, ‘गर्मी असहनीय भएको छ।’
प्रतिवेदनमा मानिसहरुले जलवायु परिवर्तन र मौसम परिवर्तनले ऊँटको स्वास्थ्य, उत्पादकत्व र उर्बरतामा असर पारेको उल्लेख छ। यस वर्षको जुनमा प्रकाशित अनुसन्धान प्रतिवेदनले छिमेकी सोमालियामा अवस्था अझ गम्भीर रहेको देखाउँछ। त्यहाँ खडेरीसँग सम्बन्धित ऊँटको मृत्यु एउटा प्रमुख संकट बनेको छ।
ऊँटहरुलाई असर गर्ने यो संकट अफ्रिकामा मात्र सीमित छैन। यसको प्रभाव छिमेकी मुलुक भारतको थार मरुभूमिमा पनि स्पष्ट रुपमा देखिन्छ। राजस्थानको यस क्षेत्रमा ऊँटहरुको संख्या द्रुत गतिमा घटेको छ। यद्यपि, भारतमा यो संकटको कारण फरक छ। अरब न्युजको खबरअनुसार थार क्षेत्रको युवा पुस्ताले ऊँट पालनमा कम चासो देखाइरहेका छन्। –एजेन्सी












