काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम मिच्ने ३ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ।
राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि कारबाही गरेको हो। यी बैंकलाई गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमासमा कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
कुन बैंकमाथि कस्तो कारबाही ?
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्र बैंकबाट जारी बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को विनियम ५ को (१) मा उल्लेख भएको व्यवस्थाको उल्लंघन गरी राष्ट्र बैंकको निर्देशन पालना नगरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ। अब आइन्दा सो विनियमावलीमा भएको व्यवस्थाअनुसार समयमै बैंक खाता रोक्का राख्ने व्यवस्था गर्न राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को १ (क) मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय वाणिज्य बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
कृषि विकास बैंक
विशेषस्थलगत निरीक्षणका क्रममा कृषि विकास बैंकले बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंक र कानुन कार्यान्वयन गर्ने निकायले गरेको अनुरोधबमोजिम समयमै खाता रोक्का नगरी राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको केन्द्रीय बैंकले जनाएको छ। बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) मा भएका खाता रोक्कासम्बन्धी व्यवस्थाबमोजिम अनुरोध प्राप्त हुनासाथ खाता रोक्का÷फुकुवा गर्न कृषि विकास बैंकलाई राष्ट्र बैंक ऐन, २०८५ को दफा १०० को उपदफा १(क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
प्रभु बैंक
समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरु समयमै सुधार गर्न प्रभु बैंक अग्रसर नभएकोले सञ्चालक समितिलाई यसअघि सचेत गराई उल्लिखित कैफियत समयमै सुधार गर्न सुधारको योजना तर्जुमा गरी लागू गर्न सञ्चालक समितिलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो। तर, २०८१ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा २०८२ मा गरिएको प्रभु बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा समेत उल्लेखित कैफियतहरुमा अपेक्षित सुधार नदेखिएकोले राष्ट्र बैंक ऐन, २०५८ (संशोधन समेत) को दफा १०० को उपदफा १ को खण्ड (ख) बमोजिम सुधारात्मक कदम चाल्नका लागि प्रभु बैंकको सञ्चालक समितिलाई कबुलियतनामा गराइएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी विगतका समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनहरुमा कर्जाका सम्बन्धमा दिइएका अधिकांश निर्देशनहरु प्रभु बैंकले पालना नगरी राष्ट्र बैंकबाट जारी भएका निर्देशनहरु पटक–पटक उल्लंघन गरेको, बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार अघिल्लो निरीक्षण प्रतिवेदनमा उल्लिखित अधिकांश कैफियतहरु सुधार नगरेको, राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८१ को इ.प्रा.निर्देशन नं. २ बमोजिम कर्जाहरुको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकमा पेस गरेको कर्जासम्बन्धी विवरण बैंकको कोर बैंकिङ सिस्टमबाट प्राप्त हुने कर्जा विवरणभन्दा फरक हुने गरी पेस गरेको हँुदा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राष्ट्र बैंकले जारी गरेको निर्देशन उल्लंघन गरेकोले निजलाई राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसमेत) को दफा १०० उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ।












