काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनार्थ आवश्यक सहजीकरण गर्ने हिसाबले दुईवटा व्यवस्था ल्याएको छ।
यो कार्यक्रम सञ्चालनार्थ भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थाहरुमा नाममा आज एउटा परिपत्र जारी गर्दै केन्द्रीय बैंकले ती व्यवस्था कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ।
अब सबै पीएसपीहरुको मोबाइल एपमा आवश्यकताअनुसार ‘करदाता प्रोत्साहन कार्यक्रम, २०८३’सम्बन्धी बारम्बार सोधिने प्रश्नहरु (एफएक्यू)को छुट्टै खण्ड समावेश गर्नुपर्नेछ।
त्यस्तै सबै पीएसपीहरुको मोबाइल एपमा साउन १६ गते ‘करदाता प्रोत्साहन कार्यक्रम, २०८३’ साउन २१ गतेबाट सञ्चालनमा आउने जानकारी नोटिफिकेसनमार्फत ग्राहकलाई पठाउनुका साथै सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा सोको नोटिफिकेसनसमेत ग्राहकलाई पठाउनुपर्नेछ।
यसअघि अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ जारी गरिसकेको छ। बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयन गर्न सरकारले कार्यविधि जारी गरेको हो।
कार्यविधिअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक यो योजनामा सरिक हुन पाउनेछन्।
अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुहोस्। उक्त बिल नम्बर नै तपाइँलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रुपमा) लखपति योजनाको घोषणा गरिनेछ।
यो कार्यक्रमअन्तर्गत हरेक दिनका विजेतालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार दिइनेछ भने पाक्षीक विजेता २ जनालाई १० लाख रुपैयाँ दिइनेछ।












