काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न निर्जीवन तथा जीवन बीमा कम्पनीले प्रस्ताव गरेका ८ वटा बीमालेखलाई स्वीकृति प्रदान गरेको छ। प्राधिकरणले केही कम्पनीलाई नयाँ बीमालेख जारी गर्न अनुमति दिएको छ भने केही कम्पनीको पुरानो बीमालेखमा गरिएको संशोधनलाई स्वीकृत गरेको छ।
प्राधिकरणका अनुसार स्वीकृत भएका कुल बीमालेखमध्ये ४ वटा निर्जीवन बीमा र ४ वटा जीवन बीमा कम्पनीका छन्। निर्जीवन बीमातर्फ विभिन्न नवीनतम र विशिष्टीकृत जोखिमहरुलाई रक्षावरण गर्ने गरी नयाँ बीमालेखहरु स्वीकृत भएका छन्।
प्राधिकरणका अनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दुईवटा नयाँ बीमालेखको स्वीकृति पाएको छ। निर्माण आयोजनाहरुका लागि ’ÚProfessional Indemnity Insurance for Construction Projects’ र पर्यटन क्षेत्रलाई लक्षित गरी ’Tourism Policy’ बीमालेख ल्याउन प्राधिकरणले अनुमति दिएको हो।
यसबाहेक शिखर इन्स्योरेन्स कम्पनीले ‘शिखर साइबर इन्स्योरेन्स’ नामक नयाँ निर्जीवन बीमालेखको स्वीकृति पाएको छ। बढ्दो डिजिटल जोखिमलाई मध्यनजर गर्दै यस कम्पनीले यो बीमालेख प्रचलनमा ल्याउन लागेको हो। यसअघि नेपाल इन्स्योरेन्सले साइबर जोखिम बीमा प्रचलनमा ल्याए पनि बजारमा खासै माग हुन सकेन।
प्राधिकरणबाट निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ‘ड्रोन बीमालेख’ जारी गर्ने अनुमति पाएको छ। यसअन्तर्गत ड्रोनको दुर्घटना, चोरी तथा अन्य जोखिमका साथै ड्रोन दुर्घटनाका कारण तेस्रो पक्षलाई हुने क्षतिको समेत रक्षावरण हुनेछ। नेपालमा श्रव्यदृश्यका लागि तथा विभिन्न सभा समारोहका लागि ड्रोनको प्रयोग बढिरहेको वर्तमान अवस्थामा यस कम्पनीले यस्तो जोखिम बहन हुने गरी नयाँँ बीमालेख प्रचलनमा ल्याउने भएको हो।
वन बीमकमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘सामूहिक म्यादी जीवन बीमा योजना’ का लागि प्राधिकरणबाट स्वीकृति पाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने नयाँ बीमा योजनाहरु ल्याउनुको साटो पुरानै बीमालेखमा संशोधन गरेर निरन्तरता दिने रणनीतिअन्तर्गत प्राधिकरणबाट बीमालेखहरुमा संशोधन स्वीकृत गराएको छ। प्राविधिक टिप्पणीका आधारमा नौलो सुरक्षित जीवन बीमा योजना (प्राविधिक टिप्पणीमा संशोधन), नौलो केटाकेटी जीवन बीमा योजना (प्राविधिक टिप्पणीमा संशोधन)का लागि प्राधिकरणले स्वीकृति दिएको छ।
यसैगरी २०६३ सालदेखि नै प्रचलनमा रहेको जीवन सहारा बीमा योजनामा पनि नेपाल लाइफले सर्तहरुमा संशोधनका लागि प्राधिकरणबाट स्वीकृति पाएको छ।
यसबाहेक प्राधिकरणले सबै निर्जीवन बीमकले कार्यान्वयनमा ल्याउन सक्ने गरी घोडा बीमालेख र मौसम सूचकांक बीमा अन्तर्गत धानबाली बीमालेख र आलु बीमालेखका सम्बन्धमा तयारी अघि बढाइ सकेको छ।












