काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता सञ्चालनमा कडाइ गर्ने भएको छ। अब आउँदो असोज मसान्तभित्र नयाँ तथा पुराना सबैमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमार्फत बैंक खाता सञ्चालनमा कडाइ गर्ने व्यवस्था ल्याएको हो। अब बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोजमसान्त भित्र मोबाईल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित खातावालाको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिई अद्यावधिक गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित खातावालालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक ६ महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको छ।
आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजात संलग्न गरेरसमेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन्।












