काठमाडौं । नेपाल बीमा प्राधिकरणले वनजंगल क्षेत्र आसपासका बासिन्दाको जोखिमको अवस्थालाई मध्यनजर गर्दै ल्याएको वन्यजन्तु केन्द्रित बीमालेखले १ हजार ५०० रुपैयाँमै १८ लाख ५० हजार रुपैयाँसम्मको जोखिम बहनको सुविधा सुनिश्चित गरेको छ।
प्राधिकरणले न्यूनतम सस्तो बीमाशुल्कमा मध्यवर्ती क्षेत्र र वनजन्तुको आक्रमणको जोखिममा रहेका सर्वसाधारणका लागि दुर्घटना खर्च १० लाख रुपैयाँसम्म, घर तथा भौतिक संरचना क्षतिको पूर्तीका लागि ५ लाख रुपैयाँ, पशुधन क्षतिमा १ लाख रुपैयाँ र कृषि बाली नोक्सानीमा ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउने सुविधा सहितको बीमालेख जारी गरेको छ।

बीमालेख अनुसार दुर्घटना खर्चअन्तर्गत व्यक्तिगत दुर्घटना मृत्युमा १० लाख रुपैयाँ, पूर्ण अशक्ततामा १० लाख रुपैयाँ, अस्थायी पूर्ण अशक्तता ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यसबाहेक दुर्घटनामा घाइते भएमा औषधोपचारका लागि १ लाख रुपैयाँसम्म र सामान्य घाइते भएमा २० हजार रुपैयाँसम्म बीमा कम्पनीले उपलब्ध गराउनेछ।
अस्थायी पूर्ण अशक्ताबापतको क्षतिपूर्ती रकम प्राप्त गर्न वन्यजन्तुको आक्रमणबाट सम्बन्धित बीमित कम्तीमा आयआर्जन गर्न १८३ दिनसम्मका लागि असमर्थ भएको हुनुपर्छ।
प्राधिकरणले जारी गरेको यो बीमालेख बीमकले बिक्री वितरणमा ल्याउन केही समय लाग्ने भएको छ। बीमकले प्रचलनमा ल्याएपछि इच्छुक व्यक्तिले नजिकको निर्जीवन बीमक वा लघु निर्जीवन बीमकको कार्यालयमा सम्पर्क गरेर बीमालेख खरिद गर्न सक्नेछन्।
वन्यजन्तुको आक्रमणबाट वर्षदिनमै ६२ जनाको मृत्यु
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउनदेखि असार २९ गतेसम्ममा वन्यजन्तुको आक्रमणबाट देशभर ६२ जनाको ज्यान गएको छ। ९४४ घरपरिवार प्रत्यक्ष प्रभावित बनेका छन्। २०८२।८३ को चैत मसान्त अर्थात् पहिलो ९ महिनामा मात्र कुल १ करोड ३८ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।
गत आर्थिक वर्ष २०८१।८२ मा देशभर जनावर आक्रमणका ५०३ वटा घटना हुँदा ५० जनाको मृत्यु भएको थियो। अन्य २४१ जना घाइते भए। वन्यजन्तुको आक्रमणबाट वनसँग सीमा जोडिएका मानव बस्तीका १९ घरमा पूर्ण क्षति, ७१ घरमा आंशिक क्षति पुगेको थियो। आक्रमणबाट ७३६ परिवार प्रभावित भएका थिए।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रणमबाट सर्वसाधारणको अन्नबाली र घरगोठसहित १ करोड ५१ लाख रुपैयाँबराबरको सम्पत्ति नोक्सानी भएको थियो। जनावर आक्रमणबाट सर्वसाधारणको ७ वटा गोठ र ३२४ वटा पशु चौपाया पनि क्षति हुन पुगेको थियो।
वन्यजन्तुको आक्रमणका घटना कोशी प्रदेशमा सर्वाधिक भएको थियो भने सबैभन्दा धेरै १५ जनाको ज्यान बागमती प्रदेशमा गएको थियो।












