काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर लगानीकर्ताको हितलाई केन्द्रविन्दुमा राख्ने प्रतिबद्धता गरेको छ। योसँगै सेबोनले पुँजीबजार सुधारका लागि आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ।
सेबोनले आज एउटा विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराएको हो। ‘नेपालको पुँजीबजार अहिले विकासको एउटा महत्वपूर्ण मोडमा उभिएको छ। पुँजीबजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको विकासका क्षेत्रमा कार्यहरु भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, पुँजीबजारको आकार, गहिराइ, वित्तीय साधनहरुको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने तथा मूलतः लगानीकर्ताको हितलाई केन्द्रविन्दुमा राखी धितोपत्र बोर्डको आर्थिक वर्ष ०८३।८४ को नीति तथा कार्यकमलाई समयबद्ध रुपमा कार्यान्वयन गर्ने क्रममा देहायअनुरुपका कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढाईने सम्पूर्ण पक्षहरुलाई जानकारी गराउँदछौँ।’
यस्ता छन् बजार सुधार कार्यक्रम
- धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाइनेछ,
- लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिई फिनफ्युएसरहरुबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगीविरुद्धका कार्यहरु उपर प्रभावकारी नियामकीय निगरानी गरिनेछ,
- सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउनका लागि सरोकारवाला पक्षहरुबाट प्राप्त सुझावसमेतलाई समेटी नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवं व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाइनेछ,
- धितोपत्र बोर्डबाट मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय कायम गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाइने,
- सूचीकरण श्चातको कारोबारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँटसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिनेछ,
- लगानीकर्ताको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजारशुल्कमा पुनरावलोकन गरिनेछ,
- नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सका रुपमा कायम राखी कारोबारयोग्य शेयरहरुका आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेन्चमार्क सूचकांक गणना गर्ने व्यवस्था मिलाइनेछ,
- सामाजिक सञ्चालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) अघि संगठित संस्थाहरुबाट हुने पुँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाइनेछ।
यी सुधारका अतिरिक्त नेपालको पुँजीबजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप विकास गरी राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुरÞ्याउने दिशातर्फ अग्रसर हुने गरी धितोपत्र बोर्डले तयार गरेको आगामी दशकको नेपालको पुँजीबजार विकास मार्गचिव, २०८३ र आव २०८३।८४ को पुँजीबजार नीति एवं सोको कार्यान्वयन कार्ययोजना बोर्डको वेबसाईटमार्फत सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।












