काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२।८३ जारी भएका निर्देशिका, मार्गदर्शन तथा कार्यविधिका बारेमा अर्थ समितिमा जानकारी गराएको छ।
आज अर्थ समितिले छलफल गर्न बीमा प्राधिकरणलाई बोलाएको हो। बीमा प्राधिकरणबाट अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी अर्थ समितिमा पुगेका छन्।
छलफलका क्रममा बीमा प्राधिकरणबाट चालु आर्थिक वर्षमा ५ वटा निर्देशिका तथा १–१ वटा मार्गदर्शन र कार्यविधि जारी भएको अर्थ समितलाई जानकारी गराएको छ।
त्यस्तै ४ वटा निर्देशिका संशोधन गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले चालु आर्थिक वर्षमा अभिकर्तासम्बन्धी निर्देशिका, बीमा सर्भेयरसम्बन्धी निर्देशिका, एनएफआरएस १७ सम्बन्धी निर्देशिका, मौसममा आधारित बीमालेखसम्बन्धी निर्देशिका र बीमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशिका जारी गरेको छ।
यसैगरी प्राधिकरणले टार्गेटेड फाइनान्सियल स्यान्सेसन मार्गदर्शन र प्राधिकरणको आन्तरिक नियन्त्रणसम्बन्धी कार्यविधि पनि जारी गरेको छ।
समीक्षा वर्षमा प्राधिकरणले जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका, बीमकको लगानीसम्बन्धी निर्देशिका, बीमकको पुनर्बीमासम्बन्धी निर्देशिका र सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका संशोधन गरेको छ।












