काठमाडौं । नेपाल सरकारले फाैजदारी अभियोगमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेका लघु बीमा कम्पनीको वेबसाइटमा अझै पनि निलम्बित सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको तस्वीर सहितको विवरण राखिएका छन् ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको वेबसाइटमा निलम्बित अध्यक्ष दिनेश सरिया, नितेश मालपानी र भानुभक्त अर्यालको तस्वीर सहितको विवरण राखिएका छन्। यसैगरी व्यवस्थापन समूहमा निलम्बित प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाको तस्वीर सहितको विवरण अझै पनि छ। अन्य लघु बीमकमध्ये गार्जियन माइक्रो इन्स्योरेन्सको वेबसाइटमा सोमबारसम्म पनि निलम्बित सञ्चालक र प्रमुख कार्यकारीको तस्वीर राखिएका थिए।
धितोपत्र कारोबार सम्बन्धी ऐन र र बीमा ऐन अन्तर्गतको कसूरको अभियोगमा नेपाल सरकारले गत जेठ २८ गते मुद्दा दायर गरेपछि नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माईक्रो ईन्स्योरेन्स, लिबर्टी माइक्रो इन्स्योरेन्स, गार्जियन माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्त अधिकृत एकसाथ निलम्बनमा परेका थिए ।


नेपाल माइक्रो इन्स्योरेन्सले अनिल राज गिरीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसकेको छ। बाँकी चार लघु बीमकमा अझै पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त नगरिएपछि प्राधिकरणले निर्देशन दिएको छ।
इन्स्योरेन्स खबरले आइतबार साँझ लघु बीमकको वेबसाइट नियाल्दा गार्जियन माइक्रो इन्स्योरेन्सको बेवसाइटमा सञ्चालक समितिमा निलम्बित सञ्चालक समितिका सञ्चालकहरूको विवरण राखिएका थिए । तीमध्ये हाल फरार रहेकी त्रिशला झुनझुनवाला समेत थिइन् ।निलम्बित प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलगायत अन्य अभियुक्तहरू समेत व्यवस्थापन समितिमा तस्वीर सहितको विवरण कायमै थियो । सोमबार यी विवरण हटाइएका छन् ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०८२ को दफा २५ (११) अनुसार, कार्यकारी अधिकृत पद रिक्त रहेको अवस्थामा ३ महिनाभित्र बीमकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नुपर्ने प्रावधान छ।
नेपाल बीमा प्राधिकरण ४ वटा लघु बीमकलाई सोमबार परिपत्र जारी गर्दै सञ्चालक समिति (बोर्ड) गठन र दैनिक कार्य सञ्चालनको व्यवस्था मिलाउन प्राधिकरणले निर्देशन दिएको छ।












