काठमाडौं। हिमालयन रिइन्स्योरेन्ससहित बीमा सम्बद्ध ७ वटा कम्पनीका सञ्चालकविरुद्ध बीमा कसुरअन्तर्गत गरेपछि ३ वटा लघु बीमा कम्पनीको सार्वजनिक शेयर निष्कासन (आइपीओ) अनिश्चित बनेको छ।
सम्पत्ति शुद्धीकरण र बीमासम्बन्धी कसुर गरेको अभियोगमा सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्त अधिकृत निलम्बनमा परेपछि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्कासन अनिश्चित बनेको हो।
शुद्ध घाटामा रहेका यी कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रोले २०८१ असोज २० गते, स्टार माइक्रोले मंसिर ९ गते र लिबर्टी माइक्रोले मंसिर २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा सार्वजनिक निष्कासनका लागि निवेदन दिएका थिए। यी ३ वटैले जनही २२ करोड ५० लाख रुपैयाँबराबरको कुल ६७ करोड ५० लाख रुपैयाँको आइपीओ अनुमति मागेका छन्।
एलायन्ट रिइन्स्योरेन्स ब्रोकर, हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्ससँगै नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरु निलम्बनमा छन्।













