काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयन गर्ने घोषणा गरेको छ।
धितोपत्र बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो। ‘नेपालको धितोपत्र बजारमा हाल देखा परेका समस्या र लगानीकर्ताको गुनासाप्रति धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बजारमा देखिएका समस्याहरुको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि धितोपत्र बोर्डले गम्भीर रुपमा गृहकार्य गरी आगामी सातासम्ममा समयबद्ध कार्ययोजनासहित विस्तृत रुपमा पुँजीबजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने व्यहोरा जानकारी गराउँदछौँ।’
धितोपत्र बोर्डबाट अनुमतिपत्रप्राप्त धितोपत्र व्यवसायीलगायत सम्बद्ध संस्थाहरुलाई धितोपत्र बोर्डबाट मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायत बजारसम्बन्धी विषयहरुका सम्बन्धमा दिइएका निर्देशनअनुरुपका कामकारवाहीहरु तोकिएको समयमा सम्पादन गराउन तथा थप स्वस्थ, सुरक्षित एवं प्रभावकारी पुँजीबजारको वातावरण बनाउने विज्ञप्तिमा उल्लेख छ। ‘यसका साथै धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित गर्न विद्यमान धितोपत्रसम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावलीलगायतका अन्य नियमावलीहरु तथा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिकालगायत अन्य कानुनी व्यवस्थाहरुमा समसामयिक पुनरावलोकन गर्ने कार्य प्रारम्भ भइसकेको छ’, विज्ञप्तिमा भनिएको छ।
अतः लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिई धितोपत्र बोर्डले कार्य अगाडि बढाइरहेकोले कसैको पनि हल्ला, बहकाऊ तथा अफवाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम वहन क्षमतासमेतलाई ध्यान दिई सुझबुझ पूर्वक लगानी सम्बन्धी निर्णय लिन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।












