काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले सीइओ फोरम इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा (CEO’s Forum: Beyond the Engine: The Story of Nepal’s Automotive Industry) विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायिक नेतृत्व, नीति विज्ञ र उद्योगीहरूसँग छलफल गरेको हो । छलफलमा नेपालको कर्पोरेट र औद्योगिक ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउनुभएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो।
छलफलका प्यानलिस्टहरूमा सीजी होल्डिङ्ग्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा प्रतिनिधि), र सिमेक्स इंकका सीईओ साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि) थिए ।
कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए । कार्यक्रमको सुरुवात गर्दै सीएनआईवाइईएफकी नेटवर्क एंड कम्युनिकेशन सभापति साईनी खेतानले कार्यक्रमको रूपरेखा र उद्देश्यमाथि प्रकाश पारेका थिए । तत्पश्चात्, प्रतिष्ठित प्यानलिस्ट र सहजकर्ताको परिचयात्मक प्रस्तुतिसँगै प्यानल छलफल भएको थियो ।
छलफलका क्रममा अटोमोटिभ क्षेत्रका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो। सो अवसरमा आयोजित खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र समग्र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।
छलफलका सहजकर्ता साकेत संघाईले प्यानलिस्टहरूको अमूल्य योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापनसहित कर्भिका थापाले मायाको चिनो हस्तान्तरण गरिन् ।












