काठमाडौँ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. श्री शिवहरी श्रेष्ठ गम्भीर विवादमा तानिएका छन् । कम्पनीको संचालक समितिले उनको कार्यसम्पादन सन्तोषजनक नभएको, व्यवसायिक लक्ष्य हासिल गर्न नसकेको र विभिन्न वित्तीय विचलनहरू सच्याउन चासो नदिएको भन्दै १५ कार्यदिन भित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

संचालक समितिले मिति २०८३ असार १० गते डा. श्रेष्ठलाई पत्र काट्दै स्पष्टीकरण सोधेको हो ।
प्रमुख आरोपहरू तथा कार्यसम्पादनमा कमजोरी
२०८१ बैशाख १४ गतेको बैठकबाट सिइओ पदमा नियुक्त डा. श्रेष्ठमाथि लागेका मुख्य आरोपहरू यस्ता छन्:
• व्यवसायिक लक्ष्य प्राप्तिमा असफलता: कार्यसम्पादन सम्झौतामा उल्लेख भए बमोजिम संस्थाले हासिल गर्नुपर्ने बीमाशुल्क र खुद मुनाफाको लक्ष्य निकै न्यून रहेको र कार्य प्रगति अत्यन्त सामान्य अर्थात् प्रगति नभएकै बराबर देखिएको ।
• कोर इन्सुरेन्स सफ्टवेयर कार्यान्वयनमा उदासिनता: कम्पनीको कोर इन्सुरेन्स सफ्टवेयर पूर्णरूपमा कार्यान्वयन गराउन नसकेको र बैंक हिसाबमिलान तथा दैनिक क्लोजिङ जस्ता सामान्य सुशासनका कार्यहरू समेत गर्न नसकेको ।
• वित्तीय विचलन र नियम विपरीत भुक्तानी: कर्मचारी अवकाश हुँदा नियम विपरीत बढी भुक्तानी दिएको, कम्पनीले प्राप्त गर्नुपर्ने रकम उठाउन सार्थक प्रयत्न नगरेको तथा दावी भुक्तानीको निर्णयबाट सिर्जना भएका रकम अन्य संस्थाबाट उठाउने कार्यमा पटक पटक अनुरोध गर्दा पनि कुनै प्रगति नदेखिएको ।
• गोलमटोल प्रतिवेदन पेस: संचालक समितिले पुनर्बीमा व्यवस्था सम्बन्धी प्रतिवेदनमा प्रष्ट राय सहित लिखित प्रतिवेदन माग गरेकोमा प्रष्ट राय नदिई गोलमटोल भाषामा एक थान थप प्रतिवेदन पेस गरेको ।
• नियम र निर्देशिकाको उल्लंघन: संस्थाको आन्तरिक लेखा परीक्षण तथा बाह्य लेखा परीक्षण प्रतिवेदनले औँल्याएका कैफियतहरू सम्बोधन नगरेको र पुनर्बीमा निर्देशिका विपरित बीमालेख जारी गरेको ।
संचालक समितिले बीमा ऐन, २०७९ को दफा ५८ तथा कार्यसम्पादन सम्झौताको बुँदा नं १५ को व्यवस्था अनुसार डा. श्रेष्ठको कार्यसम्पादन स्तर संस्थाको हितमा नरहेको र चित्तबुझ्दो समेत नभएको आरोपलाई छ ।
सञ्चालक समितिले स्पष्टीकरण सोध्नु नपर्ने कुनै कारण भए प्रमाण सहित १५ कार्य दिन भित्र जवाफ दिन र स्पष्टीकरण चित्त बुझ्दो नपाइएमा करार सम्झौता भङ्ग गरी सिइओ पदबाट मुक्त गर्ने चेतावनीसमेत दिएको छ ।












