काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना (साउन-जेठ)सम्म जीवन बीमालेख समर्पण संख्या र समर्पणबापतको रकम दुवै घटेको छ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको जेठसम्म जीवन बीमालेख समर्पण संख्यामा १४.८९ प्रतिशतको गिरावट आएको छ। यस अवधिसम्म ८३ हजार ४४२ बीमालेख समर्पण गरिएका छन्। गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म बीमितले कुल ९८ हजार ४१ बीमालेख समर्पण गरेका थिए।
समर्पण संख्या घट्दा समर्पणबापतको भुक्तानी रकम पनि घटेको छ। गत आर्थिक वर्षको जेठसम्म जीवन बीमकले समर्पणबापत कुल १३ अर्ब ५४ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेका थिए। चालु वर्षको जेठसम्म बीमितले १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ भुक्तानी लिएका छन्। अघिल्लो वर्षको तुलनामा समर्पण रकम ७.०१ प्रतिशतले घटेको छ।
प्राधिकरणका अनुसार नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेका जीवन बीमालेखको संख्यामा सामान्य घटेको छ। अघिल्लो वर्षको जेठसम्मको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेख संख्या १७.३५ प्रतिशतले घटेको हो।
चालु वर्षको पहिलो ११ महिनामा १० लाख २७ हजार ९६३ वटा बीमालेख व्यतित भएका छन्। ती व्यतित बीमालेखको उठ्न बाँकी रकम ३८ अर्ब ६७ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १२ लाख ४३ हजार ७६९ वटा बीमालेख व्यतित रहेको र ती बीमालेखको उठ्न बाँकी रकम ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेखको उठ्न बाँकी रकम ५.९२ प्रतिशतले बढेको छ।












