काठमाडौं । युरोपमा अचाक्ली गर्मीले कम्तीमा १ हजार ३०० जनाको ज्यान लिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार युरोपमा आएको अभूतपूर्व गर्मीको लहर ज्यान गुमाउनेको संख्या बढिरहेको छ। युरोपभरि उच्च तापक्रम रेकर्ड गरिएको छ।
जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा पनि नयाँ रेकर्डहरु कायम भएका छन्। यो तीव्र गर्मीको लहर पूर्वी युरोपतिर फैलिन जारी छ।
इन्स्टाग्राममा एक पोस्टमा डब्ल्यूएचओ प्रमुख टेड्रोस गेब्रेयससले लेखेका छन्, ‘जुन २१ देखि युरोपमा उच्च तापक्रमसँग सम्बन्धित कम्ती १ हजार ३०० जना मृत्यु भएको तथ्यांक प्राप्त भएको छ।’
गर्मीसँग सम्बन्धित शारीरिक तनावलाई प्रायः ‘मौन हत्यारा’ भनिन्छ। युरोपेली घर, कार्यालय र विद्यालय यस्तो तापक्रमको लागि तयार थिएनन्। टेड्रोसले चेतावनी दिए, ‘युरोप पृथ्वीमा सबैभन्दा छिटो तापक्रम बढ्ने महादेश हो, जहाँ तापक्रम विश्वव्यापी औसतभन्दा दोब्बरले बढिरहेको छ।’
आइतबार बिहान फ्रान्सेली स्वास्थ्य मन्त्रालयले घोषणा गर्यो कि बुधबारदेखि देशमा अपेक्षा गरिएको भन्दा लगभग १ हजार बढी मृत्यु भएको छ। ज्यान गुमाउनेमा धेरैजसो ६५ वर्ष र सोभन्दा माथिका मानिस छन्। घरमै हुने मृत्युको संख्या ४० प्रतिशतले बढेको छ।












