काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा स्थानीय समय अनुसार, बुधबार राति गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १८८ नाघेको छ। अन्य १५०० जना घाइते भएका छन्।
संयुक्त राष्ट्र संघ(यूएन) सचिवालयका अनुसार,एक मिनेटभन्दा कम समयमा उत्तरी क्षेत्रहरूमा भूकम्प गएको थियो। सबैभन्दा बढी प्रभावित राज्य ला गुएरामा अवस्था कति खराब छ भन्ने अझै यकीन गर्न सकिएको छैन।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, पहिलो भूकम्प रिक्टर स्केलमा ७.२ मापन गरिएको थियो। यसको केन्द्रबिन्दु लगभग २,२०,००० मानिसहरू बसोबास गर्ने सान फेलिप शहर नजिकै थियो। दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको रेकर्ड गरिएको थियो र यो १२५ वर्षभन्दा बढी समयपछि देशमा आएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ।
उद्धारकर्मीहरूका अनुसार, भग्नावशेष पन्छाएर उद्धार गर्ने कार्य प्रारम्भिक चरणमै रहेकाले मृतक र घाइतेहरूको संख्या अझै बढ्ने संभावना छ।
आपतकालीन अवस्थाको प्रतिक्रिया दिँदै, संयुक्त राष्ट्र सहायता कार्यालयले अन्तर्राष्ट्रिय खोज तथा उद्धार सल्लाहकार समूह मार्फत अन्तर्राष्ट्रिय समुदायबाट शहरी खोज तथा उद्धार टोलीहरूको द्रुत तैनाथीको घोषणा गरेको छ।
“म द्रुत र प्रभावकारी उद्धार सुनिश्चित गर्न मानवीय संयोजक जियानलुका रामपोलाको नेतृत्वमा कराकासमा हाम्रो टोलीसँग निरन्तर सम्पर्कमा छु,” संयुक्त राष्ट्र आपतकालीन राहत प्रमुख टम फ्लेचरले भने, “उनले आज बिहान अन्तरिम राष्ट्रपतिसँग कुरा गरेका छन्, र हामी के आवश्यक छ भनेर तुरुन्तै मूल्याङ्कन गरिरहेका छौं। भेनेजुएलामा हाम्रो टोलीले प्राथमिकताहरू पहिचान गर्न अधिकारीहरूसँग काम गरिरहेको छ।”
अमेरिकी सरकारले समेत भूकम्प पीडितको उद्धार र राहतका लागि तत्काल १५ करोड अमेरिकी डलर बराबरको राहत उपलब्ध गराउने आश्वासन दिएको छ। साथै भूकम्पका कारण भग्नावशेषमा फसेकाहरूलाई उद्धार गर्न तत्कालै सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी प्रतिबन्धका कारण पहिले नै आर्थिक संकटबाट गुज्रि रहेको भेनेजुएलालाइ अहिलेको शक्तिशाली भूकम्पले नराम्ररी थिचेको छ।
गत जनवरी महिनामा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाइ आतंककारी गतिविधिमा संलग्न रहेको आरोपमा अपहरण गरेका थिए। मदुरोको अपहरणपछि भेनेजुएलावासी अभिभावकविहीन बनेका छन् । अहिले उनी अमेरिकी जेलमा छन् ।












