काठमाडौं । नेपालको पुँजी बजारसम्बन्धी ज्ञान तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सन सेक्युरिटिज (ब्रोकर नं. ६४) र एस फाइनान्स क्लबको संयुक्त आयोजनामा असार ८ र ९ गते दुईदिने ‘स्टक मार्केट वर्कसप’ सम्पन्न भएको छ। कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरस्थित एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजना गरिएको थियो।
कार्यक्रममा एस फाइनान्स क्लबका करिब ६० जना विद्यार्थीको उत्साहजनक सहभागिता थियो। कार्यशालामा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी, विवेक अधिकारी र दीपकराज पन्तले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको पहिलो दिन गिरी र पन्तले नेपालको वित्तीय तथा पुँजी बजारको परिचय, लगानीका आधारभूत अवधारणाहरु तथा प्राविधिक विश्लेषणम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए। सहभागीलाई बजारको प्रवृत्ति, चार्ट विश्लेषण तथा प्राविधिक सूचकहरुको प्रयोगबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी दोस्रो दिन गिरी र अधिकारीले व्यावसायिक मोडेल विश्लेषण, कम्पनी मूल्यांकन, केस स्टडी तथा आधारभूत विश्लेषणसम्बन्धी विस्तृत प्रशिक्षण दिएका थिए। यसका साथै सहभागीहरुको सक्रियता र सिकाइलाई थप प्रभावकारी बनाउन विभिन्न वित्तीय खेलसमेत सञ्चालन गरिएको थियो।
दुवै दिन विद्यार्थीको सहभागिता, जिज्ञासा तथा अन्तर्क्रिया अत्यन्त उत्साहजनक र सकारात्मक रहेको आयोजकले जनाएको छ। कार्यक्रमले सहभागीहरुलाई पुँजी बजार, लगानी विश्लेषण तथा दीर्घकालीन वित्तीय निर्णयसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ।

कार्यक्रमको विशेष आकर्षणस्वरुप सन सेक्युरिटिजले सहभागी विद्यार्थी तथा उनीहरुका परिवारका सदस्यलाई निःशुल्क डिम्याट तथा टीएमएस खाता सुविधा प्रदान गर्ने घोषणा गरेको थियो।
सन सेक्युरिटिजले आगामी दिनमा पनि युवापुस्तामा वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी ज्ञान विस्तार गर्न यस्ता शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।












