काठमाडौं । नेपाल राष्ट्र बैंकले थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका लागि राहात दिने गरी नयाँ व्यवस्था ल्याएको छ।
केन्द्रीय बैंकले लघुवित्त संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको हो। अब थोक कारोबार गर्ने लघुवित्त संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त संस्थालाई मर्ज गर्दा वा प्राप्ति गर्दा ५ वर्षसम्म थोक कर्जाको कारोबार गर्न कुनै बाधा नपुग्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको छ।
संशोधित व्यवस्थाअनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा मात्र कार्य गर्नुपर्नेछ। तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेको मितिले ५ वर्षसम्म थोक कर्जाको कारोबार गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन।
यसअघिको निर्देशनमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्नेछन्। तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने/गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविकबमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा पुट्टयाएको मानिने छैन भन्ने रहेको थियो।












