काठमाडौं । गत चैत महिनामा कोशी प्रदेशका केही जिल्लाबाट शुरू भएको ‘बर्ड फ्लु’ (एच५एन१) रोगको प्रकोप पछिल्लो समय काठमाडौं उपत्यकासम्म अाइपुगेको छ।
पशु सेवा विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु पुष्टि भइसकेको र नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको जनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कोशी प्रदेशमा एक महिनासम्म पन्छी ओसारपसारमा लगाइएको रोक लगाउँदा त्यहाँ संक्रमण नियन्त्रणमा ल्याउन सफलता मिलेको छ । विभागका अनुसार, झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा रोग नियन्त्रणमा आएको छ। पछिल्लो समयमा यो रोगको प्रकोप काठमाडाैं उपत्यकाभित्र तीब्ररूपमा फैलिंदै गएको छ।












