काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कम्पनीको दायित्व बहन गर्ने क्षमता र सेवा प्रवाहमा कुनै प्रतिकूल प्रभाव नपरेको स्पष्ट पारेको छ।
कम्पनीले सरोकारवालाहरुका लागि एउटा विज्ञप्ति जारी गर्दै यस्तो स्पष्ट पारेको हो। ‘हालै विभिन्न सञ्चारमाध्यम, अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालमार्फत नेपालको धितोपत्र सम्बन्धी प्रचलित कानुनसँग सम्बन्धित अनुसन्धान तथा न्यायिक प्रक्रियाका विषयहरु सार्वजनिक भइरहेका छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा बीमा क्षेत्रसँग सम्बन्धित केही कम्पनी तथा व्यक्तिहरुको नामसमेत जोडिएर आएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
यस परिस्थितिमा कम्पनीप्रति विश्वास राख्ने सम्पूर्ण बीमित, अभिकर्ता, कर्मचारी, लगानीकर्ता तथा अन्य सरोकारवालालाई यथार्थ तथा आधिकारिक जानकारी उपलब्ध गराउने उद्देश्यले यो विज्ञप्ति जारी गरिएको कम्पनीले जनाएको छ। ‘हिमालयन लाइफ नेपाल सरकारको प्रचलित कानुन तथा नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थाअन्तर्गत स्थापित तथा सञ्चालित एक जिम्मेवार, संस्थागत र व्यावसायिक जीवन बीमा कम्पनी हो’, विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले आफ्नो स्थापनाकालदेखि नै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन, नियामकीय अनुपालन तथा बीमितको हित संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ।’
हाल सार्वजनिक भएका विषयहरु सम्बन्धित नियामक निकाय तथा न्यायिक प्रक्रियासँग सम्बन्धित भएकाले कम्पनी कानुनको शासन, विधिको सर्वोच्चता तथा न्यायिक स्वतन्त्रताको पूर्ण सम्मान गर्ने कम्पनीले प्रस्ट पारेको छ। ‘आवश्यकताअनुसार सम्बन्धित निकायहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी सदैव प्रतिबद्ध रहेको छ’, कम्पनीले भनेको छ, ‘यस सन्दर्भमा सम्पूर्ण सरोकारवालालाई स्पष्ट रुपमा विश्वस्त गराउन चाहन्छौँ कि सार्वजनिक भएका समाचार वा कुनै व्यक्ति विशेषसँग सम्बन्धित कानुनी प्रक्रियाले कम्पनीको संस्थागत अस्तित्व, नियमित व्यवसायिक सञ्चालन, वित्तीय स्थायित्व, दायित्व बहन गर्ने क्षमता तथा सेवाप्रवाहमा कुनै प्रतिकूल प्रभाव पारेको छैन र नपार्ने विश्वास कम्पनीले व्यक्त गर्दछ।’
कम्पनीबाट प्रदान गरिँदै आएका बीमालेख जारी तथा नवीकरण, प्रिमियम संकलन, बीमा दाबीको परीक्षण तथा भुक्तानी, ग्राहक सेवा, अभिकर्ता व्यवस्थापन, वित्तीय सञ्चालन तथा मुख्य कार्यालय, शाखा र उपशाखामार्फत प्रवाह गरिने सम्पूर्ण सेवा पूर्ववत् नियमित र प्रभावकारी रूपमा सञ्चालन भइरहेको पनि कम्पनीले स्पष्ट पारेको छ। ‘कम्पनीको संस्थागत संरचना, निर्णय प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय व्यवस्थापन स्थापित कानुनी तथा संस्थागत प्रक्रियाअनुरुप सञ्चालन हुने भएकाले कुनै एक व्यक्ति वा व्यक्तिगत विषयलाई कम्पनीको समग्र संस्थागत अवस्थासँग जोडेर मूल्यांकन गर्नु उपयुक्त नहुने कुरा स्पष्ट गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘बीमा व्यवसायको आधार विश्वास, दीर्घकालीन सुरक्षा तथा दायित्वप्रतिको प्रतिबद्धता हो। कम्पनीसँग आफ्ना बीमितहरूप्रति लिइएका दायित्वहरु समयमै तथा प्रभावकारी रुपमा पूरा गर्न आवश्यक वित्तीय, व्यवस्थापकीय तथा संस्थागत क्षमता विद्यमान रहेको छ। बीमितको हित संरक्षण तथा वैधानिक दायित्वको निर्वाह कम्पनीको सर्वोच्च प्राथमिकता रहिआएको छ र भविष्यमा पनि रहनेछ।’
कम्पनीले बीमितहरुलाई कुनै भ्रम, आशंका वा अपुष्ट सूचनाबाट प्रभावित नभई आफ्नो बीमा सुरक्षा निरन्तर कायम राख्न, समयमै प्रिमियम भुक्तानी गर्न तथा बीमासम्बन्धी कार्यहरु नियमित रुपमा सञ्चालन गर्न पनि अनुरोध गरेको छ।
त्यसैगरी सम्पूर्ण अभिकर्तालाई आफ्नो व्यावसायिक गतिविधिलाई आत्मविश्वासका साथ निरन्तरता दिन, सेवाग्राहीलाई तथ्यपरक तथा आधिकारिक जानकारी उपलब्ध गराउन तथा कम्पनीप्रतिको विश्वास अभिवृद्धिमा सहयोग पुरÞ्याउन कम्पनीले आग्रह गरेको छ। ‘कम्पनीका सम्पूर्ण कर्मचारीलाई समेत उच्च व्यावसायिकता, पारदर्शिता, उत्तरदायित्व तथा सेवामुखी भावनाका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दछौँ’, कम्पनीले भनेको छ, ‘यसका साथै सम्पूर्ण सरोकारवालालाई आधिकारिक स्रोतबाट प्राप्त तथ्यमा आधारित सूचनालाई मात्र विश्वास गर्न तथा अफवाह, अनुमान वा अपुष्ट जानकारीको आधारमा कुनै निष्कर्षमा नपुग्न अनुरोध छ।’
हिमालयन लाइफ सुशासन, पारदर्शिता, उत्तरदायित्व, नियामकीय अनुपालन तथा विधिको शासनप्रति पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। ‘कम्पनीले आफ्ना बीमित, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाको विश्वासलाई आफ्नो सब भन्दा मूल्यवान सम्पत्तिका रुपमा ग्रहण गरेको छ र उक्त विश्वासको संरक्षण तथा अभिवृद्धिका लागि निरन्तर प्रतिबद्ध र प्रयत्नशील रहनेछ’, विज्ञप्तिमा भनिएको छ।












