काठमाडौं । नेपाल राष्ट्र बैंकले तलबभत्ताबाहेक बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले पाउने अन्य सुविधामा कडाइ गरेको छ।
केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्था संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन, २०८३ जारी गर्दै यस्तो कडाइ गरेको हो। अब बैंकको सिफारिस समितिले तोकेको सीमाभन्दा बढी खर्च सुविधा प्रदान गरेमा सीमाभन्दा बढी प्रदान गरेको खर्च सीईओबाट असुलउपर गरिने व्यवस्था मार्गदर्शनमा गरिएको छ। सीईओबाट असुल उपर हुन नसकेमा निर्णयकर्ताबाट दामासाहीले असुल उपर गरिने कडा प्रावधान मार्गदर्शनमा तोकिएको छ।
मार्गदर्शनमा सीईओलाई अन्य व्यवसायिक सदस्यता, टेलिफोन तथा इन्टरनेट सुविधाबापत वास्तविक खर्च, पत्रपत्रिकालगायत अन्य शीर्षकमा तोकिएको निश्चित वार्षिक तलब तथा भत्ताको बढीमा ०.५० प्रतिशतसम्म तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समितिले तोकेबमोजिमको खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
यसैगरी तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समितिले निर्धारण गरेबमोजिम एउटा–एउटा वटा मोबाइल तथा ल्यापटप सुविधा सीईओले पाउनेछन्। सिफारिस समितिले निर्धारण गरेबमोजिम एउटा सवारी साधन पनि सीईओ पाउनेछन्। विद्यमान सम्झौताबमोजिम हाल प्रयोग गरिरहेको सवारीसाधनलाई नै निरन्तरता दिन यस व्यवस्थाले वाधा पुग्ने छैन । त्यस्तै तिनै सीईओलाई निजको सेवा अवधिभर (पुर्ननियुक्ति भएमा समेत) अर्को सवारीसाधन प्रदान गर्न पाइने छैन।
सवारीसाधनका लागि आवश्यक पर्ने इन्धन र चालक तथा चालक खर्च सुविधा पनि सीईओले पाउनेछन्।
यसैगरी बैंक तथा वित्तीयले कर्मचारीलाई छुट्याइएको शेयरबापतको अंशमध्येबाट सीईओले प्राप्त गर्नसक्ने शेयरबापत रकम चुक्ता गरी प्रदान हुने शेयर पनि पाउनेछन्।












