काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक कर्मचारीको जोखिम बीमा अनिवार्य गर्न प्रस्ताव गरेको छ।
केन्द्रीय बैंकले नमुनाका रुपमा जारी गरिएको कर्मचारी सेवा विनियमावलीमा संशोधन गर्दै ल्याएको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। कार्यालयको कामको सिलसिलामा (भ्रमण वा अन्य) हुने सबै प्रकारको दुर्घटनाका लागि अनिवार्य रुपमा कर्मचारीको जोखिम बीमाको व्यवस्था गरिने प्रस्ताव मस्यौदामा गरिएको छ। यो बीमा प्रिमियम कार्यरत बैंक तथा वित्तीयले भुक्तानी गर्ने प्रस्ताव पनि गरिएको छ।
यसैगरी नगद, धितो वा बहुमूल्य वस्तुहरुको कारोबार गर्ने बैंक कर्मचारीलाई कामको जोखिमबापत इमान्दारिता बीमा (फिडेलिटी इन्स्योरेन्स) गराइनेछ र उक्त वीमाको प्रिमियम बैंक वा वित्तीय संस्थाले भुक्तानी गर्ने व्यवस्था पनि विनियमावलीमा गरिएको छ।
सुरक्षा तथा स्वास्थ्य नीति
अब बैंक तथा वित्तीय संस्थाले सुरक्षा तथा स्वास्थ्य नीति बनाउनुपर्ने प्रस्ताव पनि विनियमावलीको मस्यौदामा गरिएको छ। बैंक वा वित्तीय संस्थाले प्रचलित ऐन, नियमावली तथा नेपाल सरकारको निर्देशनको अधीनमा रही बैंकको कार्यप्रकृति अनुकुल हुने गरी सुरक्षा र स्वास्थ्य नीति वनाउने प्रस्ताव गरिएको छ।
यसैगरी उक्त नीति लागू गर्नु सवै कर्मचारीको कर्तव्य हुनेछ भने नीति लागू गर्न र आवधिक रुपमा पुनरावलोकन गर्न बैंकमा एक व्यवसायजन्य सुरक्षा र स्वास्थ्य समिति हुने प्रावधान पनि ल्याउन लागिएको छ।












