काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको इस्युअर रेटिङ ‘सिंगल ए माइनस’ लाई यथावत राखेको छ। यसका साथै कम्पनीलाई यसअघि राखिएको नकारात्मक प्रभावसहितको निगरानी (वाच विथ नेगेटिभ इम्प्लिकेसन) बाट समेत हटाएको छ।
यो रेटिङ प्राप्त गर्ने संस्थाहरूमा समयमै वित्तीय दायित्वहरू पूरा गर्ने पर्याप्त सुरक्षा क्षमता रहेको र यसमा कर्जा जोखिम न्यून हुने रेटिङ एजेन्सीले उल्लेख गरेको छ।
गत आर्थिक वर्ष २०८१।८२ मा कम्पनीको कुल खुद बीमाशुल्क आम्दानी बढेर २ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ५९ करोड रुपैयाँ मात्र थियो। साथै कम्पनीको रक्षावरण नाफा पनि ५ करोड ९० लाख रुपैयाँबाट उल्लेख्य रूपमा बढेर १९ करोड ४० लाख रुपैयाँ पुगेको छ।
सन् १९४७ मा स्थापना भएको नेपाल इन्स्योरेन्स नेपालकै सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी हो। यस कम्पनीमा नेपाल बैंक लिमिटेड १५.०४ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्स कम्पनी १४.९७ प्रतिशत जस्ता बलियो संस्थाहरू मुख्य प्रवर्द्धकका रूपमा रहेका छन्।
न्युरोड, कमलादी, वीरगञ्ज र भरतपुर जस्ता प्रमुख स्थानहरूमा कम्पनीको स्वामित्वमा जग्गा रहेको छ। ऐतिहासिक लागतका आधारमा मूल्याङ्कन गरिएका यी जग्गाहरूको वास्तविक बजार मूल्य उच्च रहेकाले भविष्यमा कम्पनीको जगेडा कोष अझ मजबुत हुन सक्ने देखिन्छ।
कम्पनीको व्यापार मुख्यतया मोटर र सम्पत्ति बीमामा मात्र बढी केन्द्रित छ। जसले गत आर्थिक वर्षमा कुल बीमाशुल्कु आम्दानीको करिब ७३ प्रतिशत हिस्सा ओगटेको छ। हालै भएका युवा पुस्ताको विरोध प्रदर्शन र आन्दोलनका कारण सवारी साधन तथा सम्पत्तिमा भएको क्षतिले गर्दा कम्पनीको दाबी भुक्तानी अनुपात चालू आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्ममा बढेर ७४ प्रतिशत पुगेको छ। यसले गर्दा कम्पनीको खुद नाफामा केही संकुचन आई समीक्षा अवधिमा १० करोड ६० लाख रुपैयाँमा सीमित भएको छ।
बीमा बजारमा रहेको तीब्र प्रतिस्पर्धा तथा नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिने नियम र कानुनमा हुने परिवर्तनहरूले कम्पनीको आगामी नाफामा प्रभाव पार्न सक्ने जोखिम औंल्याइएको छ। भविष्यमा कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दा नियामक निकायले तोकेको न्यूनतम चुक्ता पुँजी तथा सोल्भेन्सी मापदण्ड कायम राख्दै लगानीको प्रतिफल सुधार्नु नै मुख्य परीक्षा हुने इन्फोमेरिक्स नेपालले जनाएको छ।












