काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले सहभागी कर्मचारीका लागि थप लचिलो व्यवस्था ल्याएको छ।
सीआईटीले ‘कर्मचारी बचत वृद्धि अवकाश कोष सञ्चालन कार्यविधि, २०८०’ मा केही महत्वपूर्ण संशोधन गर्दै थप लचिलो व्यवस्था ल्याएको हो। संशोधित व्यवस्थाअनुसार अब सीआईटीका कर्मचारी बचत वृद्धि अवकाश कोषमा आबद्ध सहभागी कर्मचारीले कार्यक्रममा आबद्ध भएको ६ महिना पूरा भएपछि सापटी सुविधाका लागि योग्य हुनेछन्। यसको अर्थ ६ महिना कटेपछि सापटी सुविधा उपभोग गर्न पाइनेछ। यसअघि यस्तो सुविधा १ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान थियो।
यसैगरी कार्यविधि संशोधनमार्फत सीआईटी एक आर्थिक वर्षमा ऋण प्रवाहको सीमा पनि बढाएर ४ पटकसम्म पुर्याएको छ। यसअघि एक आर्थिक वर्ष २ पटकमात्र ऋण सुविधा प्राप्त गर्न सकिन्थ्यो।
कार्यविधिमा संशोधन गर्दै अब कुनै सहभागी कर्मचारीले यस कार्यक्रममा रकम जम्मा गर्न छाडेमा, रकम जम्मा गर्न छाडेको ७ वर्ष पुगेमा वा निजको नाममा जम्मा रहेको रकमले सापटी रकम नखाम्ने अवस्था भएमा सीआईटीले निजको हिसाब मिलान (हिसाब किता क्लियर) गरी खाता बन्द गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो अवधि १० वर्ष अवधिको थियो।
संशोधित कार्यविधि तत्कालै लागू हुने गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न आआफ्नो शाखामातहतका कर्मचारी तथा सेवाग्राहीलाई समेत सोहीबमोजिम गर्न गराउन सीआईटीले आग्रह गरेको छ।












