काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहविरुद्ध नेपाल प्रहरीले आफ्नो कारबाही तीव्र पारेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको कडा निगरानी र सक्रियताका कारण जेठ महिनामा मात्रै वैदेशिक रोजगार ठगीका विभिन्न घटनामा संलग्न ६६ जना अभियुक्त पक्राउ परेका छन्। प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार पक्राउ परेका यी अभियुक्तले कुल २३७ जना सोझा र वैदेशिक रोजगारको खोजीमा रहेका युवालाई ठगी गरेका छन्।
जेठ १ गतेदेखि जेठ ३० गतेसम्मको अवधिमा मात्रै यस्ता ठगहरुले युवाबाट कुल १८ करोड १४ लाख ८८ हजार ४७० रुपैयाँ रकम उठाएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
युरोप र अमेरिकाको बढी प्रलोभन
ठगी गर्नेहरुले युवालाई आकर्षित गर्न मुख्यगरी अमेरिका, क्यानडा, क्रोएसिया, सर्बिया, ग्रीस, बेलायत र फ्रान्सजस्ता मुलुकको प्रलोभन देखाउने गरेको पाइएको छ। प्रहरीका अनुसार शरण थापा नामका अभियुक्तले सिंगापुर पठाइदिने भन्दै ४३ जना पीडितहरुबाट मात्रै ५ करोड १ लाख १२ हजार रुपैयाँ ठगी गरेका छन्।
त्यस्तै राजेश क्षेत्री, तिर्थमान भोलन र गोवर्धन नेपालीको समूहले सेसेल्स र मौरिसस पठाइदिने बहानामा ६२ जना युवाबाट २ करोड ८३ लाखभन्दा बढी रकम असुल गरेको पाइएको छ। टोकन रकम र प्रक्रियाका नाममा अन्य अभियुक्तले पनि प्रतिव्यक्ति लाखौँ रुपैयाँ असुलेका छन्।
कन्सल्टेन्सी नै ठगी धन्दामा संलग्न
व्यक्तिगत एजेन्टहरुबाहेक काठमाडौंमा स्थापित संस्था नै ठगी धन्दामा संलग्न रहेको फेला परेको छ। काठमाडौं–११ मा सञ्चालित ‘डब्लुआइसिएस इमिग्रेशन सर्भिसेज प्रालि’ का सञ्चालकद्वय भारतीय नागरिक अमित कुमार र राहुल कुमारले क्यानडा पठाइदिने प्रलोभनमा ४ जना पीडितबाट १ करोड ५७ लाख ६५ हजार ४०० रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
कानुनी कारबाहीको प्रक्रिया
पक्राउ परेका अभियुक्तहरुमध्ये केहीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने बहुसंख्यक अभियुक्तलाई वैदेशिक रोजगार विभाग ताहाचल चलान गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक इजाजतपत्र नभएका कन्सल्टेन्सीहरुलाई वैदेशिक रोजगारीका नाममा मोटो रकम नबुझाउन र सचेत रहन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ।












