काठमाडौं । देशका विभिन्न मुख्य तथा सहायक सडक खण्डहरू बाढी, पहिरो र निर्माण कार्यका कारण अवरुद्ध भएका छन् । संघीय राजधानी काठमाडौंलाई पूर्वी र दक्षिणी जिल्लाहरूसँग जोड्ने केही महत्वपूर्ण राजमार्ग तथा सडकहरू बन्द भएपछि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार, काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन बेलुका १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
यसबाहेक मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं. २ र ४ स्थित महालक्ष्मी खोला क्षेत्रमा कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौं सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ । उक्त स्थानमा करिब १०० मिटर सडक ढलान गर्ने कार्य सुरु भएकाले निर्माण नसकिँदासम्म (करिब १ महिना) का लागि बाटो बन्द गरिएको हो । यस खण्ड भई चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्गको रूपमा सिस्नेरी-दक्षिणकालीको बाटो हुँदै पठाउने व्यवस्था मिलाइएको छ ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ०९ देउराली देवीस्थान नजिकै पहिरो खसेपछि सतुङ्गलदेखि मकवानपुरको चित्लाङतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यो बाटो मर्मत गर्ने सहमति भएसँगै मर्मत कार्यका लागि यो सडक खण्ड पनि १ महिनाका लागि बन्द गरिएको छ ।
मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ चित्लाङ क्षेत्रमा थानकोट-चित्लाङ सडक निर्माण तथा सुधार कार्य भइरहेकाले सवारी साधन आवतजावतमा रोक लगाइएको छ । गाडी चल्दा दुर्घटनाको जोखिम बढ्ने र निर्माणमा अवरोध हुने भएपछि पानीघट्टदेखि चित्लाङ बजारसम्म जेठ २९ गतेसम्मका लागि यातायात बन्द गरिएको हो । यात्रुहरूलाई वैकल्पिक मार्गको रूपमा पालुङ-नौबिसे वा मार्खु-कुलेखानी खण्ड प्रयोग गर्न भनिएको छ ।
वर्षाका कारण लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. १० बिमिरेभन्ज्याङ स्थित मध्यपहाडी लोकमार्गमा माथिबाट पहिरो खसेको छ । पहिरोका कारण उक्त लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ र बाटो खुलाउने प्रयास भइरहेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले यी सडक खण्डहरू भएर यात्रा गर्नुअघि स्थानीय प्रशासन वा प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन र तोकिएका वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरेको छ ।












