काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति ३७ खर्ब रुपैयाँ माथि रहेको छ। यो सञ्चितिले साढे २२ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको देखिन्छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा रु. ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ वैशाख मसान्तमा २४.० प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको छ।
चालु आर्थिक वर्ष २०८२।८३ को १ं महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।












