काठमाडौं । चालकको लापरबाहीले बाहेक अन्य कुनै कारणले गाडीमा क्षति हुँदा मोटर बीमाले क्षतिपूर्ति प्रदान गर्छ। कस्तो अवस्थामा मोटर बीमामा दाबी लाग्छ र कस्तो अवस्थामा दाबी लाग्दैन भन्ने सर्त र अवस्थाका बारेमा बीमालेखको अनुसूचीमा खुलाइएको हुन्छ।
मोटर बीमामा कतिपय अवस्थामा दाबी गर्नुभन्दा नगर्नु नै फाइदा हुन्छ। बीमा दाबीबापत क्षतिपूर्ति लिएपछि आगामी वर्ष नवीकरण गर्ने समयमा बीमाशुल्कबापत छुट पाइँदैन । लगातार ५ वर्षसम्म कुनै पनि क्षतिपूर्ति दाबी नगर्दा बीमाशुल्क रकमको ५० प्रतिशतसम्म छुट पाइन्छ। लगातार १ देखि ५ वर्षसम्म बीमा दाबी नगरेको अवस्थामा क्रमशः २०, ३०, ४०, ४५ र ५० प्रतिशत बीमाशुल्क छुट दिने प्रावधान छ।
बीमा दाबी गर्ने वा नगर्ने निर्णय लिनुअघि बीमाधारक वा बीमितले अनिवार्य अधिकबापतको रकम कट्टा गरेर प्राप्त हुने रकम र बीमालेख नवीकरण गर्दा प्राप्त हुने छुट रकमको तुलना गर्नुपर्छ। बीमा रकम दाबी गर्दा प्राप्त हुने क्षतिपूर्ति रकमभन्दा अर्को वर्ष बीमालेख नवीकरण गर्दा पाइने छुट रकम धेरै हुन्छ भने क्षतिपूर्ति दाबी नगर्नु नै बुद्धिमानी हुन्छ।
मोटर बीमाअन्तर्गत क्षतिपूर्ति दाबी गर्नुपर्ने अवस्था आयो भने बीमकलाई तत्कालै सोबारेमा मौखिक र पछि लिखित जानकारी गराउनुपर्छ। यसरी मोटर बीमा दाबीको जानकारी गराइसकेपछि प्राविधिकमार्फत सवारीसाधनको मर्मतसम्भारका लागि लाग्ने खर्च अनुमान गराउनुपर्छ। खर्च अनुमानको सम्बन्धमा बीमकले स्थलगत रुपमा सर्भेयर परिचालन गरेर सवारीसाधनको अवस्थाबारे यकीन गरेर बीमकलाई प्रतिवेदन दिन्छन् र यस्तो प्रतिवेदनका आधारमा बीमकले क्षतिपूर्ति रकम निर्धारण गरेको हुन्छ।
क्षतिपूर्ति दाबीका लागि बीमकलाई सूचना दिएर सर्भेयरबाट प्रतिवेदन बुझाइसकेको अवस्थामा पनि बीमितले चाहेमा बीमा दाबी रद्द गर्न पाउने सुविधा हुन्छ। त्यसैले आफूले दाबीबापत प्राप्त गर्ने रकम र दाबी नगर्दा नवीकरण बीमाशुल्कमा प्राप्त गरिने छुट रकमका बारेमा बीमकसँग राम्ररी जानकारी लिनुपर्छ। दाबी नगरेबापत पाइने बीमाशुल्क छुट रकम नै अधिक भएको अवस्थामा आफ्नो दाबी निवेदन फिर्ता लिनु उपयुक्त हुन्छ।
विशेषगरी महँगा मूल्यको सवारीसाधन र खरिद गरेको सुरुका ५ वर्षसम्मको उमेर भएका सवारीसाधनको बीमामा बीमाशुल्क छुट सुविधा दाबी गर्नु किफायती हुन्छ। यो अवधिमा ह्रासकट्टीका बाबजुद सवारीसाधनको मूल्यका आधारमा बीमाशुल्क रकम पनि अधिक हुने भएकाले छुटबापतको रकम पनि उल्लेख्य हुन्छ।
के हो स्वेच्छिक र अनिवार्य अधिक ?
मोटर बीमालेखमा स्वेच्छिक अधिक वा अनिवार्य अधिक सम्बन्धी प्रावधान हुन्छ। गाडीमा कुनै क्षति भएको अवस्थामा बीमाधारक वा बीमित स्वयंले व्यहोर्ने स्वेच्छिक क्षतिपूर्ति रकमको सीमा हो । उदाहरणका लागि कुनै बीमितले मोटर बीमा गर्दा स्वेच्छिक वा अनिवार्य अधिक ५ हजार रुपैयाँ रोजेको छ भने सवारीसाधनमा कुनै कारणले क्षति भएको अवस्थामा ५ हजार वा नोक्सानीको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, त्यो रकम बीमित स्वयंले व्यहोर्नुपर्छ। त्यसपछिको बाँकी रकममात्र बीमकले क्षतिपूर्तिबापत प्रदान गर्छ।












