काठमाडौं । आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट शेयर बजारमैत्री रहेको लगानीकर्ताहरुको धारणा रहेको छ। बजेटमा उल्लेखित व्यवस्थाहरु कार्यान्वयन भएको खण्डमा शेयर बजार सकारात्मक ढंगले अगाडि बढ्ने उनीहरुको विश्वास छ।
बजेटमा सरकारले पुँजी बजार सुधारसँगै प्रविधिमैत्री कारोबार प्रणाली विकास गरिने जनाएको छ। गैरआवासीय नेपाललाई शेयर बजारमा भित्र्याउन विदेशी लगानी स्वीकृति, लगानी लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गरिने भनिएको छ। नेपाली कम्पनीलाई विदेशी शेयर बजारमा सूचीकृत हुन कानुनी आधारहरु तय गरिने बजेटमा उल्लेख छ।
आर्थिक विधेयकमा सरकारले शेयर बजारमा पुँजीगत लाभकरको दर बढाए पनि त्यो नै अन्तिम हुने भनिएकोले लगानीकर्ताहरु उत्साहित छन्। ‘यसअघि पुँजीगत लाभकर नै अन्तिम कर हो भनेर किटान गरिएको थिएन, जसका कारण विशेषगरी ठूला लगानीकर्ता हच्किएका थिए’, बजार जानकार प्रेम वली भन्छन्, ‘अहिलेको आर्थिक विधेयकमा पुँजीगत लाभकर नै अन्तिम कर हुने भनिएको छ। यसले गर्दा अब ठूला लगानीकर्ताहरु निर्धक्क भएर बजार प्रवेश गर्ने वातावरण बनेको छ।’
ठूलो लगानीकर्ता प्रवेश गरेपछि शेयर बजार सकारात्मक ढंगले अगाडि बढुने वलीको तर्क छ। ‘गैरआवासीय नेपालीलाई बजारमा भित्र्याउने कुरा पहिले पनि आएको कार्यान्वयन हुन सकेको छैन’, उनले भने, ‘अब यो सरकारले त्यसलाई कार्यान्वयन गर्नेमा लगानीकर्ता विश्वस्त छन्। गैरआवासीय नेपाली पनि शेयर बजार प्रवेश गरेपछि बजारको महौल नै बेग्लै हुन्छ।’
शेयर बजारको पुनर्संरचनादेखि अन्य नीतिगत व्यवस्था गरिने भन्ने कुरा बजेटमा उल्लेख भएको बजारमा रौनक आउन सक्ने वलीको भनाइ छ। ‘बजार लामो समयदेखि साइडवेजमा चलेको छ। अब बजारले गति लिन्छ भन्ने आशा गर्न सकिन्छ’, उनले भने।
सक्रिय शेयर लगानीकर्ता गोपीकृष्ण गजुरेल पनि बजेट सकारात्मक नै आएको शेयर बजारको चमक फर्किनेमा विश्वस्त छन्। ‘अर्थतन्त्रलाई लयमा फर्काउने बजेट आएको छ। यसको प्रभाव शेयर बजारमा पनि पर्छ’, उनले भने।
अर्कोतर्फ शेयर बजारमैत्री व्यवस्था ल्याउन रास्वपाको सरकार सकारात्मक रहेको बजेटबाट देखिने गजुरेलको भनाइ छ। ‘त्यसैले अब निराश हुनुपर्ने अवस्था देखिन्न’, उनले भने, ‘लगानीकर्तले शेयर बजारको जानकारी राखेर कम्पनीको आधारभूत विषयवस्तु अध्ययन गरेर लगानी गर्दा राम्रै हुन्छ।’












