काठमाडौं । भारतमा सरकारले शनिबार नागरिकहरूलाई सरकारी विभागहरू विरुद्ध अनलाइन गुनासो सुन्न कृत्रिम बुद्धिमत्ता (एआई) मा अाधारित च्याटबट सञ्चालनमा ल्याएको छ।
‘समाधान दीदी’ नामक च्याटबटले “सार्वजनिक गुनासो संयन्त्रको लोकतान्त्रिकीकरण” गर्न मद्दत गर्ने सरकारको विश्वास छ। च्याट बटमार्फत् अब कुन मन्त्रालय, विभाग, वर्ग वा उपश्रेणीको हो भनेर जान्न आवश्यक नपर्ने गरी आफ्नो भाषामा बोलेर, सरल शब्दहरूमा गुनासो र सुझाव वर्णन गरेर गुनासो दर्ता गर्न सकिनेछ।
शुरूमा सेवाग्राहीलाइ स्वागत गर्दै च्याटबटले गुनासोबारे जानकारी माग्छ, केही सान्दर्भिक प्रश्नहरू सोध्छ, स्वचालित रूपमा उपयुक्त मन्त्रालय, विभाग, वर्ग र उप-श्रेणी पहिचान गर्छ, र सही अधिकारीसँग गुनासो दर्ता गर्छ।
प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागद्वारा भाशिनी (एआई संचालित उपकरण) सँगको सहकार्यमा विकसित गरिएको, च्याटबट सुरक्षित सरकारी पूर्वाधार भित्र विकास गरिएको छ, जसले डेटा गोपनीयता सुनिश्चित गरेको छ। सुरुवात कार्यक्रममा, च्याटबटलाई विभिन्न भारतीय भाषाहरूमा प्रत्यक्ष प्रदर्शन र परीक्षण गरिएको थियो।
गुनासो पोर्टलमा भारतीय संविधानको आठौं अनुसूचीका २२ भाषाहरू बाहेक, भोजपुरी, गारो, खासी र मिजो र बोधी जस्ता क्षेत्रीय र आदिवासी भाषाहरूलाई चरणबद्ध रूपमा समावेश गरिने योजना रहेको भारत सरकारको घोषणा छ।












