काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश दिएको छ।
न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो। अदालतले रविसँगै जीबी राई र छविलाल जोशीविरद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश जारी गरेको छ।
यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले दुईवटा कसुर झिक्ने र सहकारी ठगीसम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएको थियो। त्यस निवेदनमाथि फैसला गर्दै अदालतले रविसँगै जीबी र छविको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। तीनैजनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत राखिएको छ।
निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मूल थप र पूरक अभियोग पत्रहरुमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको अभियोग दाबी कायम नरहने गरी संशोधन गरिदिएको आदेशमा उल्लेख छ।
महान्यायाधिवक्ता भण्डारीले गत वर्ष पुस ३० गते रविको हकमा मात्रै मुद्दा संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर, त्रुटि भएको बताउँदै उनले माघ २ गते जीबी र छविसहितका सबै अन्य प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिएकी थिइन्।












