काठमाडौं । शेयर लगानीकर्ताले शेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्डमा ७ बुँदे सुझाव पेस गरेका छन्।
लगानीकर्ताहरुको छाता संगठन नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईंको नेतृत्वमा गएको टोलीले धितोपत्र बोर्डका कार्यवाहक अध्यक्षसामु पेस गरेको ज्ञापनपत्रमा आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमा समेटिने गरी आफ्ना सुझाव प्रस्तुत गरिएको हो।
ज्ञापनपत्रमा पुँजीगत लाभकर (सीजीटी)लाई अन्तिम कर घोषणा गरी कर स्थायित्व सुनिश्चित गर्न सुझाव दिइएको छ। गैरआवासीय नेपालका लागि पूर्ण लगानीमैत्री वातावरण तथा कर सहजीकरण गर्न पनि ज्ञापनपत्रमार्फत सुझाव दिइएको छ।
यसैगरी सूचीकृत कम्पनीलाई आफ्नै शेयर बाई ब्याक गर्न पाउने स्पष्ट कानुनी व्यवस्था गर्न, पुँजीबजारलाई उत्पादनशील अर्थतन्त्रसँग प्रत्यक्ष रुपमा जोड्ने विशेष नीति लिन, पुँजीबजारसम्बन्धी कर तथा नीति संरचनामा दीर्घकालीन स्थायित्व कायम गर्न, संस्थागत तथा विदेशी लगानी विस्तार गरी बजारलाई दीर्घकालीन स्थायित्व प्रदान गर्न तथा लघुवित्त वित्तीय संस्थामाथि लगाइएको अव्यवहारिक बन्देजहरु पुनरावलोकन गर्न सुझाव दिइएको छ।
















