काठमाडौं । सरकारले चिनी अभाव हुन नदिन बजार अनुगमन प्रभावकारी बनाउने भएको छ। भारत सरकारले चिनी निर्यातमा प्रतिबनध लगाएपछि सरकारले यस्तो निर्णय लिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति ध्यानाकर्षण जनाएको छ। ‘यस परिस्थितिलाई दृष्टिगत गर्दै मन्त्रालयले आमउपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखी आवश्यक कार्य गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा मन्त्रीको समुपस्थितिमा नेपाल चिनी उत्पादक संघका पदाधिकारी र सरोकारवाला मन्त्रालय तथा निकायका प्रतिनिधिसँग भएको छलफलमा सहभागी उद्योगीले बजारमा चिनीको सहज तथा सुलभ मूल्यमा नियमित आपूर्ति गर्न प्रतिबद्धता जनाएका छन्।’
नेपालमा सञ्चालनमा रहेका चिनी उद्योगहरुबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनलगायतसँग करिब ८ महिनाको माग पूरा गर्ने चिनीको मौज्दात रहेको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले मातहत निकायबाट बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा निकायगत तथा तहगत समन्वयलाई थप प्रभावकारी बनाउँदै बजारमा कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन नियमित निगरानी गरी त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रचलित कानुनको कडाइकासाथ कार्यान्वयनको व्यवस्था गर्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘दीर्घकालीन रुपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सरकार आन्तरिक उत्पादनलगायतका बहुपक्षीय प्रयासमा रहेको समेत जानकारी गराइन्छ।
नेपालमा सञ्चालित चिनी उद्योगहरुको उत्पादकत्व क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा सम्बन्धित पक्षहरूबीच समन्वय कायम गरी सरकार र निजी क्षेत्रको सहकार्यमा देहायका कदम चालिने व्यहोरा समेत जानकारी गराउँदछौँ।’
- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उन्नत जातका उखुमार्फत उत्पादनको दक्षता वृद्धि, नवप्रवर्तन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानहरुलाई सहजीकरण गर्ने;
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादन प्रवर्द्धन, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने;
- उद्योगी–व्यवसायीले उत्पादन तथा उत्पाकत्व अभिवृद्धि, स्वच्छ बजार र उपभोक्ता हित संरक्षणमा सहयोग पुर्याउने।
आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायतका अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न मन्त्रालय पूर्ण रुपमा प्रतिबद्ध रहेको जानकारी गराउँदै सम्पूर्ण उपभोक्ता एवं सरोकारवालामा अनावश्यक सञ्चिति नगर्न तथा चिनीको उपलव्धता र आपूर्ति सम्वन्धमा कुनै किसिमको अन्योलमा नपर्न मन्त्रालयले आग्रह गरेको छ।












