काठमाडौं । दुर्गम भेगका सर्वसाधारणले समयमै औषधि सेवन गर्न नपाउँदा रोग झनै बल्झिएको र ज्यानै गुमाउनुपरेको अवस्था भइरहेका बेला सरकारी गोदाममा झन्डै सवा करोड रुपैयाँ मूल्य बराबरको औषधि कुहिएको छ।
महालेखापरीक्षकको कार्यालयले ६३ औँ वार्षिक प्रतिवेदनमा सरकारी स्वामित्वको स्वास्थ्य संस्थाले खरिद गरेको ९ करोड रुपैयाँभन्दा बढी मूल्यका औषधिजन्य मालसामान तथा कीटको तोकिएको म्याद गुज्रिएर खेर गएको छ।
महालेखाका अनुसार स्वास्थ्य सेवा विभागमा खरिद गरिएको २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँ, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको ६ प्रकारका ४७ लाख ७० हजार रुपैयाँ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ करोड १९ लाख ९६ हजार रुपैयाँ, टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालको १ करोड २३ लाख ५६ हजार रुपैयाँसमेत ९ करोड ७ लाख १९ हजार रुपैयाँको औषधिजन्य मालसामान तथा कीटको तोकिएको म्याद समाप्त माप्त भई प्रयोगमा आउन नसक्ने अवस्था रहेको छ।
सरकारी स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधिको म्याद समाप्त भएमा वा टुटेफुटेमा खरिदबिक्री नगरी अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार तत्कालै औषधि आपूर्तीकर्ताबाट प्रतिस्थापन गर्नुपर्छ। तर, ती स्वास्थ्य संस्थाको व्यवस्थापक र खरिद शाखाका कर्मचारीको लापरबाहीले सरकारलाइ ठूलो नोक्सानी भएको छ।












