काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमामा पहुँच विस्तारका लागि डिजिटल प्रणालीको विस्तार र ग्रामीण लक्षित कार्यक्रममा जोड दिन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्राधिकरणको ५८औँ वार्षिकोत्सव विशेषांकमा शुभकामना व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले ग्रामीण भेग र न्यून आय भएका वर्गसम्म पुर्याउनु प्राधिकरणको मुख्य चुनौती र जिम्मेवारी रहेको मन्त्रीले उल्लेख गरेका छन् । यसका लागि प्राधिकरणको थप सक्रियता आवश्यक रहेको उनको ठम्याई छ ।
उनले बीमा गर्नेदेखि दाबी भुक्तानीसम्मका सबै प्रक्रिया डिजिटल माध्यमबाट सरल रूपमा प्रवाह गर्न र प्रक्रियामा सरलता ल्याई सेवालाई आम नागरिकका लागि सहज र सर्वसुलभ बनाउनुपर्नेमा जोड दिएका छन्।
हाल करिब आधा जनसङ्ख्या मात्र बीमाको दायरामा रहेको तथ्यलाई स्वीकार गर्दै उनले यसको दायरा फराकिलो बनाउन नेपाल बीमा प्राधिकरणलाई सुझाव दिएका छन् । बीमाको पहुँच विस्तारका लागि आम नागरिकमा सचेतना जगाउनु अनिवार्य रहेको बताउँदै उनले बीमा व्यवसायलाई थप प्रतिस्पर्धी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन् ।
बीमितको हित संरक्षण गर्नु नै प्राधिकरणको प्राथमिक भूमिका हुनुपर्नेमा सचेत गराएका छन् । सरकारको बीमा सम्बन्धी सल्लाहकारको रूपमा रहेको प्राधिकरणबाट यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका सुझावहरू प्राप्त हुने अपेक्षा समेत मन्त्रीले व्यक्त गरेका छन् ।












