IME Life New

शेयर बजारलाई किन चलायमान बनाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

  • प्रेम वली

नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार भनेको वित्तीय प्रणाली हो र त्यसको सक्रिय तथा संवेदनशील हिस्सा हो, शेयर बजार। सामान्यतया शेयर बजारलाई केही सीमित धनी वर्गको खेलका रुपमा बुझ्ने गरिन्छ तर वास्तविकता त्योभन्दा धेरै फराकिलो छ। आज नेपालको शेयर बजारमा विभिन्न उमेर, वर्ग, क्षेत्र, पेसा र लिंगका मानिसहरु जोडिएका छन्। विद्यार्थीदेखि गृहिणी, मध्यम वर्गदेखि ठूला व्यवसायी, कर्मचारीदेखि अवकाशप्राप्त व्यक्तिसम्म सबैले कुनै न कुनै रुपमा शेयर बजारमा आफ्नो सहभागिता जनाइरहेका छन्।

त्यसैले शेयर बजारको उतारचढाव केवल लगानीकर्ताको नाफा–नोक्सानसँग मात्र सम्बन्धित नभएर यसले देशको समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। बजार चलायमान हुँदा व्यापार, पर्यटन, बैंकिङ, उद्योग, रोजगारी र सरकारी राजस्वसम्म सकारात्मक असर पुग्छ। त्यसैले ‘शेयर बजार किन चलायमान हुनुपर्छ ?’ भन्ने प्रश्न आज अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ।

Esewa
Crest

युवा पुस्ता र शेयर बजार

आज ३० वर्षमुनिका युवाहरु ठूलो संख्यामा शेयर बजारमा जोडिएका छन्। विदेशमा जस्तो पढाइसँगै पार्ट–टाइम रोजगारी गर्ने अवसर नेपालमा सीमित भएकाले धेरै युवाले स–सानो बचत शेयर बजारमा लगानी गर्न थालेका छन्। उनीहरुको उद्देश्य करोडपति बन्ने मात्र नभएर आफ्नो व्यक्तिगत खर्च धान्ने, आत्मनिर्भर बन्ने र आर्थिक अनुभव हासिल गर्ने पनि हो।

कुनै विद्यार्थीले शेयर बजारबाट केही नाफा कमाउँदा उसले त्यो रकम रेस्टुरेन्ट, घुमफिर, कपडा, प्रविधि सामग्री वा दैनिक आवश्यकतामा खर्च गर्छ। यसरी युवाले गरेको खर्चले साना व्यापार तथा सेवामूलक व्यवसायलाई प्रत्यक्ष सहयोग पुगिरहेको हुन्छ।

युवाले शेयर बजारबाट कमाएको आम्दानीमा कर तिर्छन्। फेरि उनीहरुले खर्च गर्दा पनि भ्याट तथा अन्य करमार्फत सरकारकै राजस्व बढिरहेको हुन्छ। यसले देखाउँछ कि शेयर बजारमा भएको चलायमानता केवल एउटा स्क्रिनमा देखिने अंकको खेलमात्र नभएर त्यो त बजार, व्यापार र सरकारी आम्दानीसम्म फैलिएको आर्थिक चक्र हो।

मध्यम वर्गीय लगानीकर्ताः अर्थतन्त्रको मेरुदण्ड

नेपालको शेयर बजारमा अर्को ठूलो समूह हो, मध्यम वर्गीय लगानीकर्ता। उनीहरुले आफ्नो बचत, बैंक ऋण वा वर्षौंदेखिको कमाइ लगानी गरेका हुन्छन्। कसैले दुई–चार करोड लगानी गरेका छन् भने कसैले जीवनभरको बचत बजारमा राखेका छन्।

जब बजार राम्रो हुन्छ तब उनीहरुको आत्मविश्वास बढ्छ। घर निर्माण, सवारीसाधन खरिद, पारिवारिक यात्रा, राम्रो शिक्षा वा स्वास्थ्य सेवामा खर्च गर्ने क्षमता पनि बढ्छ। यसले होटल, पर्यटन, घरजग्गा, अटोमोबाइल, शिक्षा र सेवा क्षेत्रलाई चलायमान बनाउँछ।

नेपालमा अहिले बैंकिङ क्षेत्रमा ठूलो मात्रामा पैसा निष्क्रिय भएर बसेको चर्चा हुने गर्छ। यस्तो अवस्थामा बजार सकारात्मक हुँदा लगानीकर्ताले बैंकबाट ऋण लिएर नयाँ क्षेत्रमा लगानी गर्न सक्छन्। यसले बैंकको कर्जा प्रवाह बढाउँछ र अर्थतन्त्रमा पैसाको बहाव पुनः सक्रिय हुन्छ।

अर्थतन्त्रमा सबैभन्दा बढी चलायमानता ल्याउने वर्ग नै मध्यम वर्ग हो। उनीहरुले खर्च पनि गर्छन्, बचत पनि गर्छन् र लगानी पनि गर्छन्। त्यसैले यो वर्गलाई आत्मविश्वास दिने एउटा महत्वपूर्ण माध्यम शेयर बजार बन्न सक्छ।

गृहिणीहरुको आर्थिक सशक्तीकरण

प्रविधिको विकाससँगै नेपालमा शेयर कारोबार अनलाइन प्रणालीमा गएको छ। यसले विशेषगरी गृहिणीहरुलाई ठूलो अवसर दिएको छ। घरमै बसेर शेयर खरिद–बिक्री गर्न सकिने भएपछि धेरै महिलाहरु आर्थिक गतिविधिमा जोडिन थालेका छन्।

पहिले घरको आर्थिक निर्णयमा सीमित भूमिका हुने महिलाहरु आज आफैँ लगानीकर्ता बनेका छन्। उनीहरुले घरको कामसँगै शेयर बजारमा सक्रिय सहभागिता जनाउन थालेका छन्। सानो लगानीबाट सुरु गरेर धेरै महिलाहरुले राम्रो आम्दानीसमेत गर्न थालेका उदाहरणहरु बढिरहेका छन्।

महिलाले कमाउँदा त्यसको प्रभाव परिवारको जीवनस्तरमा प्रत्यक्ष देखिन्छ। गृहिणीहरुले आफ्नो आम्दानी कपडा, सुनचाँदी, सौन्दर्य सामग्री, घरायसी सामान, शिक्षा तथा परिवारको आवश्यकतामा खर्च गर्ने भएकाले बजारका विभिन्न क्षेत्र चलायमान हुन्छन्। कपडा पसलदेखि सुन पसल, ब्युटी पार्लरदेखि घरेलु उद्योगसम्म यसबाट लाभान्वित हुन्छन्।

महिलाहरु आर्थिक रुपमा सक्षम हुँदा परिवारमा आर्थिक दबाब पनि कम हुन्छ। यसले अनावश्यक आर्थिक तनाव र गलत कमाइतर्फ जाने प्रवृत्तिलाई समेत घटाउन सहयोग पुर्याउन सक्छ। त्यसैले शेयर बजार महिलाको आर्थिक सशक्तिकरणको एउटा आधुनिक माध्यम पनि बनेको छ।

ठूला लगानीकर्ता र औद्योगिक विस्तार

शेयर बजारमा ठूला लगानीकर्ताको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। उनीहरुले ठूलो पूँजी लगानी गरेर उद्योग, जलविद्युत आयोजना, उत्पादनमूलक व्यवसाय तथा अन्य दीर्घकालीन क्षेत्रमा लगानी गर्न सक्छन्।

नेपालमा पछिल्ला वर्षहरुमा धेरै जलविद्युत आयोजना, बैंक तथा कम्पनीहरुले सर्वसाधारणबाट पुँजी उठाएर आफ्ना योजना सञ्चालन गरेका छन्। हजारौँ मानिसको लगानीलाई एकीकृत गरेर ठूला परियोजना सफल बनाउने क्षमता शेयर बजारले देखाइसकेको छ।

ठूला लगानीकर्ताले उद्योग विस्तार गर्दा रोजगारी सिर्जना हुन्छ। बैंकबाट ठूलो ऋण प्रवाह हुन्छ, निर्माण सामग्रीको माग बढ्छ, यातायातदेखि सेवा क्षेत्रसम्म आर्थिक गतिविधि फैलिन्छ। अन्ततः सरकारलाई करमार्फत ठूलो राजस्व प्राप्त हुन्छ।

यसरी हेर्दा शेयर बजार केवल धनी वर्गको कमाइको माध्यम मात्र नभई देशको उत्पादन, रोजगारी र विकाससँग प्रत्यक्ष जोडिएको प्रणाली हो।

कम्पनीहरुको पुँजी जुटाउने प्रभावकारी माध्यम

शेयर बजारको सबैभन्दा ठूलो विशेषता भनेको यसले कम्पनीलाई जनतामार्फत पुँजी जुटाउने अवसर दिनु हो। कुनै उद्योग वा कम्पनीले बैंक ऋणमा मात्र निर्भर नभई सर्वसाधारणलाई शेयर बिक्री गरेर आवश्यक पुँजी संकलन गर्न सक्छ। यसले एकातिर उद्योगलाई विस्तार गर्न सजिलो हुन्छ भने अर्कोतिर जनताले पनि देशको आर्थिक विकासमा प्रत्यक्ष साझेदारी गर्न पाउँछन्। दोस्रो बजारमा कम्पनीको मूल्य दैनिक रुपमा देखिने भएकाले कम्पनीका प्रवर्द्धकहरु पनि आफ्नो व्यवसायलाई थप सुदृढ बनाउन प्रेरित हुन्छन्।

नेपालमा लाखौँ सर्वसाधारणलाई जोडेर ठूला परियोजना सञ्चालन भएका धेरै उदाहरण छन्। यदि शेयर बजारप्रति विश्वास र स्थिरता बढाउन सकियो भने भविष्यमा अझ ठूला राष्ट्रिय परियोजनाहरु पनि जनसहभागिताबाट सम्भव हुन सक्छन्।

सरकारको उदासीनता किन ?

यति धेरै आर्थिक सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि नेपालमा शेयर बजारप्रति सरकार र नीति निर्माताहरुको दृष्टिकोण प्रायः उदासीन देखिन्छ। बजार घट्दा लगानीकर्ताको मनोबलमात्र खस्कँदैन, अर्थतन्त्रको समग्र गतिविधिमा पनि असर पर्छ।

सरकारले कहिलेकाहीँ शेयर बजारलाई केवल सीमित समूहको स्वार्थसँग जोडेर हेर्ने गरेको अनुभूति लगानीकर्ताले गरिरहेका छन्। तर, वास्तविकता के हो भने शेयर बजारसँग लाखौं सर्वसाधारणको बचत र आशा जोडिएको छ।

यदि सरकार र नियामक निकायले स्थिर नीति, स्पष्ट कर व्यवस्था, लगानीमैत्री वातावरण र सकारात्मक दृष्टिकोण अपनाउने हो भने शेयर बजार अर्थतन्त्र चलायमान बनाउने शक्तिशाली माध्यम बन्न सक्छ।

आज नेपाललाई उत्पादन, रोजगारी, लगानी र आर्थिक आत्मविश्वासको आवश्यकता छ। यस्तो अवस्थामा शेयर बजारलाई कमजोर बनाउनेमात्र नभएर व्यवस्थित र सुदृढ बनाउने नीति आवश्यक छ। किनकि चलायमान शेयर बजारले केवल लगानीकर्तालाई होइन– व्यापार, उद्योग, बैंक, पर्यटन, सरकार र समग्र अर्थतन्त्रलाई नै ऊर्जा दिन सक्छ।

(लेखक वली शेयर बजारमा लामो समयदेखि सक्रिय रहेका छन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS