काठमाडौं । विदेश यात्राका क्रममा कुनै अस्वस्थ्यता, बिरामी वा दुर्घटना पर्दा उपचार खर्चको चिन्ताबाट मुक्त रहनका लागि यात्रा (ट्राभल) बीमा भरपर्दो माध्यम हो। यात्रा बीमाले यात्राको अवधिभर बिरामी वा दुर्घटना पर्दाको उपचारमात्र नभएर झिन्टिगुन्टा चोरी भएको अवस्था वा क्षति भएको अवस्थामा पनि क्षतिपूर्ति दिन्छ।
यात्रामा प्रस्थान गर्दा हावापानीमा भएको परिवर्तन, घरपरिवारजनबाट टाढा रहँदाको मनस्थिति र नौलो ठाउँको खानपिनले गर्दा स्वास्थ्यमा समस्या आइपर्न सक्छ। यसबाहेक यात्राका क्रममा कुनै अप्रत्याशित घटना वा दुर्घटना पनि आइपर्न सक्छ। यस्तो अवस्थामा स्वदेशबाहिर रहँदा कोसँग कसरी सहयोग माग्ने ? उपचार खर्च कसरी जुटाउने ? भन्ने चिन्ताबाट मुक्त रहन यात्रा बीमा सहयोगी हुन्छ।
यात्रा बीमाअन्तर्गत बीमितको प्रकृति र घुमघामको संख्याका आधारमा विशेषगरी ४ प्रकारका बीमा योजना
- सीमित यात्रा बीमाः कहिलेकाहीँमात्र यात्रा गर्ने यात्रुका लागि यो बीमा योजना उपयुक्त हुन्छ।
- पटके यात्रा बीमाः कुनै यात्रुले वर्षभर धेरैपटक विभिन्न गन्तव्यमा घुमघाम गर्नुपर्ने अवस्थामा पटके यात्रा बीमा योजना उपयुक्त मानिन्छ।
- व्यावसायिक यात्राः कुनै यात्रुले वर्षभर विभिन्न गन्तव्यमा घुमघाम गर्नेभन्दा पनि व्यावसायिक कामको सिलसिलामा यात्रा गर्नुपर्दा यस्तो बीमा योजना उपयुक्त हुन्छ।
- विद्यार्थीका लागि बीमा योजनाः उच्च शिक्षा हासिल गर्ने सिलसिलामा विदेश यात्रामा प्रस्थान गर्नुपूर्व यो बीमालेख जारी गरिन्छ। यो बीमालेखमा यात्राका क्रममा मात्र नभएर निश्चित समयवाधिभित्र विदेशमै बीमित विद्यार्थी बिरामी भएको अवस्थामा सम्पूर्ण उपचार खर्च बीमा कम्पनीले नै व्यहोर्छ।
यात्रा बीमाअन्तर्गत सुविधाहरु
- व्यक्तिगत दुर्घटना
- आकस्मिक चिकित्सा खर्च तथा सुरक्षित प्रस्थान
- अस्पताल भर्ना खर्च
- झिन्टिगुन्ट(लगेज)मा भएको नोक्सानी तथा ढिलो गरी प्राप्त भएमा
- राहदानी हराएमा
- यात्राका क्रममा बीमितका कारण कुनै व्यक्तिगत दायित्व सिर्जना हुन गएमा
- यात्रामा हुने ढिलाइ
- विमान अपहरण भएको अवस्थामा
- परिवारका सदस्यको मृत्युका कारण यात्रा नटुंगिँदै बीमित यात्रु आकिस्मक रुपमा घर फर्किनुपरेमा
- महाविपत्ति आइपरेमा
- कानुनी परामर्श तथा कानुनी उपचार खर्च
- अन्त्येष्ठि कार्य
यात्रा बीमाअन्तर्गत दाबीको प्रक्रिया दाबीको प्रकृतिअनुसार दुई प्रकारमा विभाजन गरिएका छन्– सामान्य अवस्था र आपतकालीन अवस्था।
सामान्य अवस्थाको दाबी गर्दा बीमितले आफूले बीमालेख जारी गरेको बीमा कम्पनीलाई आफू यात्राबाट फर्केको ३१ दिनभित्र सम्पर्क गर्नुपर्छ र दाबीसम्बन्धी सम्पूर्ण जानकारी, कागजपत्रसहित दाबीका लागि निवेदन दिनुपर्छ।
यात्राका क्रममा आकस्मिक रुपमा बीमित स्वयं बिरामी परेर उपचार गराउनुपर्ने भएमा निम्न प्रक्रिया पूरा गर्नुपर्छ
- आकस्मिक उपचारका लागि तेस्रो पक्ष व्यस्थापक (थर्ड पार्टी एडमिनिस्ट्रेटर)सँग सम्पर्क गर्नुपर्छ।
- दाबीकर्ताले भर्नुपर्ने क्षतिपूर्ति दाबी फारम भर्नुपर्दछ।
- सक्कल नगदी रसिद र उपचारको रसिद बीमक वा बीमकको प्रतिनिधिलाई उपलब्ध गराउनुपर्छ।
- चिकित्सक र अस्पतालको प्रतिवेदन तथा प्रेस्किप्सन।
- यात्रा कार्यक्रम र विद्युतीय हवाई टिकट।
- प्रस्थान तथा आगमन पानामा छापसहित राहदानीको प्रतिलिपि।
- सक्कल बीमालेख।
यात्रा बीमाअन्तर्गत झिन्टिगुन्टा(लगेज) मा भएको नोक्सानीबापत पनि बीमकले क्षतिपूर्ति दाबी भुक्तानी गरिदिन्छ।
यसका लागि बीमितले निम्न लिखित प्रक्रिया पूरा गर्नुपर्छः
- दाबी भुक्तानीका लागि दाबी फाराममा सम्पूर्ण विवरण भरेर बीमकलाई उपलब्ध गराउने। ई–मेलमार्फत पनि उपलब्ध गराउन सकिन्छ।
- हराएको सामान वा क्षति भएको सामान सम्बन्धमा पुष्टि हुने गरी विमानस्थल कार्यालयबाट तत्कालै कागजप्रमाण प्राप्त गर्ने र बीमकलाई उपलब्ध गराउने।
- नोक्सानसम्बन्धी विवरण वायु सेवा कम्पनीबाट पुष्टि हुने कागजपत्र।
- यात्रा कार्यक्रम र विद्युतीय टिकट।
- लगेज र लगेजमा भएका सामान खरिद गरेको बिल।
- प्रस्थान तथा आगमन पानामा छापसहित राहदानीको प्रतिलिपि।
- सक्कल बीमालेख।
यसैगरी गन्तव्यको विमानस्थलमा वायु सेवा कम्पनीबाट ढिलो गरी लगेज सुपुर्दगी गरेको अवस्थामा पनि बीमितले क्षतिपूर्ति दाबी गर्न सक्ने सुविधा यात्रा बीमाले दिएको हुन्छ।
यसका लागि बीमितले निम्न कागजपत्रसहित दाबी प्रक्रिया पूरा गर्नुपर्छः
- दाबीसम्बन्धी फाराममा सम्पूर्ण विवरण भरेर बीमकको प्रतिनिधिलाई उपलब्ध गराउने वा ई–मेल गर्ने।
- लगेजमा नोक्सानी भएको सामानको विवरण वा लगेज प्राप्त नभएको पुष्टि गर्ने प्रमाणपत्र। यस्तो पत्र वायु सेवा कम्पनीले उपलब्ध गराउँछ।
- आकस्मिक रुपमा सामान खरिद गरेको बिल।
- ढिलाइको अवधि वा सामान प्राप्त गरेको समयको निस्सा र ढिलाइको कारणसम्बन्धी वायु सेवाले पुष्टि गरिदिएको प्रमाण।
- यात्रा कार्यक्रम र विद्युतीय हवाई टिकट।
- प्रस्थान तथा आगमन पानामा छापसहित राहदानीको प्रतिलिपि।
- सक्कल बीमालेख।
वायु सेवा कम्पनीका कारण यात्रा ढिलाइ भएमा क्षतिपूर्तिका लागि निम्न कागजपत्र अनिवार्य पेस गर्नुपर्छः
- दाबीकर्ताले भर्नुपर्ने दाबी फारम।
- ढिलाइको प्रकृति र अवधिसम्बन्धी वायु सेवा कम्पनीबाट पुष्टि भएको कागजप्रमाण।
- बोर्डिङ पास।
- यात्रा कार्यक्रम तालिका र विद्युतीय हवाई टिकट।
- प्रस्थान तथा आगमन पानामा छापसहित राहदानीको प्रतिलिपि।
- सक्कल बीमालेख।












