काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल कम्पनीसहित प्राधिकरणबाट इजाजत प्राप्त दुईवटा कम्पनीविरूद्ध जरिवानासहित नियमन सम्बन्धी कारवाही गरेको छ।
प्राधिकरणको कारवाहीमा पर्नेमा पुनर्बीमा दलालको सेवा दिंदै आएको लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालि र निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन्।
प्राधिकरणका अनुसार, पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५ उपदफा(१) र (२) को व्यवस्था पालना नगरेकोमा बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड क बमोजिम पहिलो पटक भएकाले पाँच हजार रूपैयाँ नगद जरिवाना सहित सचेत गराएका छन् ।
पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५(१) मा पुनर्बीमा दलालको इजाजपत्र प्राप्त संगठित संस्थाले प्राधिकरणको स्वीकृति बिना स्वामित्व हस्तान्तरण गर्न नपाउने प्रावधान छन् । यसैगरी १५(२) मा पुनर्बीमा दलालको इजाजपत्र प्राप्त संस्थाले स्वामित्व परिवर्तन गर्न चाहेमा कारण समेत खुलाएर प्राधिकरण समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ।
यसैगरी सम्पत्ति बीमा निर्देशन २०८० को दफा २५(२) को विपरित हुने गरी कार्य गरेकोमा बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम(पहिलो पटक) भएकाेले सगरमाथ लुम्बिनी इन्स्योरेन्सलाई दुई लाख रूपैयाँ जरिवाना गरेको छ।
सम्पत्ति बीमा निर्देशन २०८० को दफा २५ (२) मा बीमकले सम्पत्ति बीमा निर्देशन बमोजिम जारी गरिने बीमालेखको बीमाशुल्कमा प्रत्यक्ष बीमा गर्न अाएको अवस्थामा बाहेक कुनै प्रकारको छुट, रिहायत, कटाैती वा सहुलियत दिन नपाउने प्रावधान छ ।












