काठमाडौं । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त अव्यवस्थित बस्तीहरुबाट स्थानान्तरण प्रक्रियामा छुटेकाहरुलाई यथाशीघ्र सम्पर्कमा आग्रह गरेको छ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रुपमा तोकिएको दशरथ रंगशालामा यथाशीघ्र सम्पर्क गरी दर्ता गर्न आग्रह गरेको हो। ‘वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ती होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शलगायतका आधारभूत सेवा उपलब्ध गराइएको छ।’
वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्वव्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराएको सेवा–सुविधाको लाभ लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ। ‘सरकार नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनस्र्थापनाका लागि पूर्ण रुपमा प्रतिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ।












