काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा सर्भेयर संस्थामा ८० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी खुला गरेको छ। प्राधिकरणले बीमा सर्भेयरसम्बन्धी निर्देशन २०८३ मार्फत सर्भेयर व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी खुला गरेको हो।
निर्देशनको दफा १९ को उपदफा (१) मा शाखा कार्यालय स्थापना वा संयुक्त लगानीमा कम्पनी स्थापना गरी कार्य सञ्चालन गर्न सक्ने व्यवस्था छ। यसैगरी उपदफा (२) मा प्राधिकरणसँग इजाजत प्राप्त सर्भेयरसँग संयुक्त रुपमा नेपालमा बीमा सर्भेयरको संगठित संस्था स्थापना गर्न इच्छुक विदेशी सर्भेयरले त्यस्तो संस्थाको कुल चुक्तापुँजीको अधिकत्तम ८० प्रतिशतसम्म शेयर धारण गर्ने गरी प्रत्यक्ष वैदेशिक लगानी गर्न सक्ने व्यवस्था छ।
पुनर्बीमा दलाल व्यवसायमा विदेशी लगानी
प्राधिकरणले पुनर्बीमा दलाल व्यवसायमा पनि प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी व्यवस्था गरेको छ। पुनर्बीमा दलाल (ब्रोकर)सम्बन्धी निर्देशिका २०७८ को दफा १७ मा विदेशी पुनर्बीमा दलालले ५० हजार अमेरिकी डलर धरौटी राखेर नेपालमा सम्पर्क वा शाखा कार्यालय सञ्चालनमा ल्याउन सक्ने व्यवस्था छ।
यसैगरी नेपाली पुनर्बीमा दलालसँग संयुक्त रुपमा पुनर्बीमा दलाल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले ५५ प्रतिशतसम्म शेयर हिस्सा लिने गरी लगानी गर्न सक्ने व्यवस्था छ।
निर्देशिकाको दफा ३ मा पुनर्बीमा दलाल व्यवसाय सञ्चालनका लागि न्यूनतम अधिकृत पुँजी १० करोड रुपैयाँ र चुक्ता पुँजी ५ करोड रुपैयाँ कायम गरिएको छ।












