काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन।
वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको चैतसम्म ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्ष २०८१।८२ को चैतसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १९.३० प्रतिशतले बढेको छ।
बैंकहरुले नाफाका आधारमा आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने छन्। तेस्रो त्रैमाससम्मको नतिजा शेयरधनीहरुका लागि लाभांशका हिसाबले खासै भने देखिएको छ।
नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये केबल ६ वटाले मात्रै डबल डिजिटको लाभांश क्षमता बनाएका छन्। तीमध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढी देखिन्छ। तेस्रो त्रैमाससम्म एभरेष्टले ३१ प्रतिशत माथि लाभांश क्षमता बनाएको छ।
एभरेष्टसँगै नबिल, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई र ग्लोबल आइएमई बैंकले दोहोरो अंकको लाभांश बाँड्न सक्ने क्षमता बनाएका छन्।
यसैगरी १० प्रतिशतभन्दा कम लाभांश क्षमता बनाउनेमा ७ वटा बैंक रहेका छन्। चैतसम्म एकल अंकको लाभांश वितरण गर्न सक्ने क्षमता बनाउनेमा माछापुच्छ्रे, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंक छन्।
तेस्रो त्रैमाससम्मको नतिजा हेर्दा नेप्सेमा सूचीकृत बाँकी ६ वटा वाणिज्य बैंकले भने हालसम्म लाभांश बाँड्न सक्ने देखिएको छैन।













