काठमाडौं । नेपाल बीमा प्राधिकरणले टिप्पणी र पत्र जारी गर्ने प्रक्रियालाई डिजिटल प्रविधिमा लगेको छ।
प्राधिकरणले विभिन्न विषयमा तयार पार्ने आन्तरिक टिप्पणीलाई आईआरएमएस प्रणालीभित्रै समावेश गरेर कागजरहित सेवा प्रवाहको अभ्यास सुरु गरेको हो। प्राधिकरणले आन्तरिक वा बाह्य विषयमा निर्णय गर्नुपर्ने विषयमा कार्यालय टिप्पणी तयार पार्दा सम्बन्धित कर्मचारीले बेव पोर्टलमै टिप्पणी लेख्ने र वेब पोर्टलमै सदर स्याहा गर्ने प्रणाली लागू गरेको छ। यसबाहेक बीमकलाई कुनै पत्र जारी गर्नुपर्ने भए जारी गरेर सम्बन्धित बीमकले पनि वेब पोर्टलमार्फत नै पत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ।
बीमकले समेत प्राधिकरणमा पत्राचार गर्नुपर्दा वा कुनै विवरण पेस गर्नुपर्दा कागजी पत्र पेस गर्नु नपर्ने भएको छ। प्राधिकरणले उपलब्ध गराएको युजर आईडी र पासवर्डमार्फत बेव पोर्टलमा पहुँच राखेर बीमकले सीधै प्राधिकरणलाई अभौतिक रुपमै पत्र पठाउन मिल्ने व्यवस्था मिलाएको छ।
कागजरहित सेवा प्रवाहलाई प्रवर्द्धन गर्न बीमकलाई समेत डिजिटल सिग्नेचर प्रयोगमा ल्याउन निर्देशन दिइसकेको प्राधिकरणका एक अधिकारीले बताए। ‘यसो हुँदा प्राधिकरणमात्र नभएर बीमक पनि कागजरहित हुनेछन्’, ती अधिकारीले भने।
प्राधिकरणले कागजरहित प्रणाली प्रयोगमा ल्याए पनि यसबारे केही नीतिगत स्पष्टता देखिन बाँकी रहेको कर्मचारीहरुको भनाइ छ । बीमकबाट प्राप्त भएको कुनै पनि निवेदन वा पत्रको हकमा प्राधिकरणले कति दिनभित्र निर्णय गरिसक्नुपर्छ भन्ने व्यवस्था छैन। यसका साथै तल्लो तहको कर्मचारीले उठाएको टिप्पणी माथिल्लो तहको अधिकारीले कति दिनभित्र स्वीकृत वा अस्वीकृत गरिसक्नुपर्छ भन्ने प्रावधान पनि पोर्टलमा राखिएको छैन।
तल्लो तहको कर्मचारीले तयार पारेको कुनै टिप्पणीमा संशोधन गर्नुपरे वा विवरण हेरफेर गर्नुपरेको अवस्थामा माथिल्लो तहको कर्मचारीले त्यसमा संशोधनका लागि तल्लो तहका कर्मचारीलाई निर्देशन दिन मिल्ने सुविधा पनि समावेश नभएकाले व्यवहारिक रुपमा कठिनाइ कायमै छ। यसरी टिप्पणीको मस्यौदा संशोधन गर्नुपर्ने अवस्थामा पुनः पहिलो चरणदेखि नै टिप्पणी लेखन सुरु गर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको कर्मचारीहरुको गुनासो छ।
प्राधिकरणले अनुसन्धानका क्रममा नेपाल प्रहरीबाट प्राप्त गर्नुपर्ने मुचुल्कालगायतका विवरण सहजै प्राप्त गर्न र पत्राचार गर्नका लागि देशभरका ३०० वटै इलाका प्रहरी कार्यालयसँग वेब पोर्टलमार्फत डिजिटल माध्यमबाटै पत्र आदान–प्रदान मिल्ने गरी प्रणालीमा थप सुविधा समावेश गरिरहेको छ। आईआरएमएस प्रणालीभित्रै डिजिटल टिप्पणी, परिपत्र र पत्राचारको सुविधा समावेश गरिएकाले सर्भरको क्षमता सीमित हुँदा प्राविधिक कारणले काममा सुस्तता देखिएको छ।
बीमकबाहेकको सेवाग्राहीले कुनै निवेदन पेस गर्नुपरेको अवस्थामा भने कागजी निवेदन नै पेस गर्नुपर्नेछ। कागजी निवेदन प्राप्त गरेर प्राधिकरणको दर्ता शाखाका कर्मचारीले स्क्यान गरिसकेपछि वेब पोर्टलमा प्रविष्ट गर्ने अभ्यास रहेको छ । यसका लागिसमेत प्राधिकरणले वेब पोर्टलमै निवेदनको पत्र र प्रमाणका कागजहरु स्वयं निवेदकले नै प्रविष्ट गर्न सक्ने गरी व्यवस्था मिलाएको अवस्था कागज बोकेर प्राधिकरण धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सहजता मिल्नेछ।












