काठमाडौं । सरकारले आर्थिक रुपान्तरणका अवसरहरु औँल्याएको छ। नेपालको वर्तमान आर्थिक स्थितिपत्र आज सार्वजनिक गर्दै अर्थ मन्त्रालयले आर्थिक रुपान्तरणका अवसरहरु औँल्याएको हो।
सरकारले स्थिर सरकारको जगमा निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिने जनाएको छ। स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिनेछ’, पत्रमा भनिएको ‘यसबाट अर्थतन्त्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउँदै उत्पादनमूलक क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ’, स्थितिपत्रमा भनिएको छ।
जलविद्युतको विशाल सम्भावनलाई सस्तो र भरपर्दो ऊर्जाका रुपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातमार्फत स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने मन्त्रालयको धारणा छ। ‘क्षेत्रीय विद्युत व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको स्थान सुदृढ गर्ने देखिन्छ’, स्थितिपत्रमा भनिएको छ।
प्राकृतिक तथा सांस्कृतिक सम्पदाले उच्च मूल्यमा आधारित पर्यटन विकासको बलियो आधार प्रदान गर्न गरेको पत्रमा उल्लेख छ। ‘हिमाली, सांस्कृतिक र समुदायमा आधारित पर्यटनको एकीकृत विकासमार्फत ग्रामीण क्षेत्रमा रोजगारी र आय सिर्जना विस्तार गर्न सकिन्छ’, पत्रमा भनिएको छ, ‘पर्यटन पूर्वाधार, सेवा गुणस्तर र गन्तव्य व्यवस्थापन सुधारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न सहयोग पुर्याउने छ’, पत्रमा भनिएको छ।
यसैगरी कृत्रिम बौद्धिकता र रोबोटिक्सको उपयोग तथा डिजिटल प्रविधिको विस्तारसँगै सेवा निर्यात र ज्ञानमा आधारित अर्थतन्त्रको विकासको अवसर बढ्दो रहेको सरकारको ठम्याइ छ। सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतामार्फत न्यनू पुँजीमा उच्च मूल्य अभिवृद्धि गर्ने आर्थिक गतिविधि विस्तार गर्दै युवाशक्ति र साना उद्यमलाई विश्व बजारसँग जोडिने सम्भावना रहेको पनि सरकारले औँल्याएको छ।
स्थितिपत्रमा कृषि क्षेत्रको आधुनिकीकरणमार्फत् उत्पादन, आय र निर्यात विस्तारको सम्भावना छ। उच्च मूल्यका बाली, पशुपालन, बगैंचा तथा कृषि प्रशोधन उद्योगमा लगानीमार्फत उत्पादकत्व वृद्धि र आयात प्रतिस्थापन सकिने र भौगोलिक विविधताको उपयोगले क्षेत्रविशेष उत्पादन र ग्रामीण उद्योग विकासलाई टेवा पुरÞ्याउन सक्ने उल्लेख छ। ‘औद्योगिक विकास र आपूर्ति शृङ्खला सुदृढीकरणमार्फत् निर्यातउन्मुख उत्पादन विस्तार गर्ने संभावना रहेको छ’, पत्रमा भनिएको छ, ‘विशेष आर्थिक क्षेत्र, औद्योगिक क्लस्टर र व्यापार सहजीकरणका उपायहरुमार्फत उत्पादन लागत घटाउँदै प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ। भौगोलिक अवस्थाको लाभ उठाउँदै क्षेत्रीय ट्रान्जिट ट्रेड हब बन्ने सम्भावना पनि उत्तिकै छ।’
सरकारले. व्यवस्थित सहरीकरण र पूर्वाधार विकासले लगानी आकर्षण र रोजगारी सिर्जनामा सकारात्मक योगदान पुरÞ्याउन सक्ने जनाएको छ। ‘यातायात, ऊर्जा, सिँचाइ तथा डिजिटल पूर्वाधार विस्तारले उत्पादन र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गर्नेछ’, पत्रमा भनिएको छ, ‘सार्वजनिक निजी साझेदारीमार्फ् ठूला आयोजना कार्यान्वयन गर्ने अवसर पनि प्रबल छ।’
विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गर्ने सम्भावना रहेको पत्रमा उल्लेख छ। ‘वैदेशिक आम्दानीलाई उद्यमशीलता, सीप विकास र लगानीतर्फ मोड्न सके घरेलु अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ’, पत्रमा भनिएको छ, ‘प्रवासी नेपाली एवं वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई स्वदेशी उत्पादन तथा सेवा क्षेत्रमा उपयोग गर्न सकिने अवस्था रहेको छ।’
त्यस्तै वित्तीय क्षेत्र सुदृढीकरणले लगानी विस्तार र आर्थिक विविधीकरणलाई टेवा दिन सक्छ। वित्तीय समावेशीकरण, डिजिटल वित्तीय सेवा र दीर्घकालीन लगानीका उपकरणहरुको प्रयोगले उपलब्ध बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सहयोग पुरÞ्याउन, जैविक र पर्यावरणीय सन्तुलन कायम गर्दै मुलुकभित्र उपलब्ध खनिज, जल, जमिन, जंगल र जडीबुटीको प्रचुर उपयोगमार्फत् आय, उत्पादन र रोजगारी बढाउने अवसर सिर्जना गर्न सकिने मन्त्रालयले जनाएको छ।












